बाख्रापालन व्यवसायमा युवाको आकर्षण बढ्दै

फाइल तस्बिर

पूर्वखोला गाउँपालिका– ३ अर्खलडाँडा बस्ने टेकनाथ पङ्गेनीले गाउँ फर्केर व्यावसायिक बाख्रापालन थालनी गरेका छन् ।

करीब ९ वर्षसम्म रामपुर बेझाड बजारमा होटल व्यवसाय चलाएका पङ्गेनीले ८ महिनादेखि गाउँ फर्केर बाख्रापालन शुरू गरेका हुन् ।

संघीयता कार्यान्वयन भएसँगै गाउँ गाउँमा चहलपहल बढ्न थालेकाले गाउँ नै फर्केर बाख्रापाल्न थालेको उनी बताउँछन् । तनहुँबाट स्थानीय खरी र क्रस जातका बाख्रा खरीद गरेर व्यवसाय थालेका हुन् । उनको फार्ममा ४३ वटा माऊ बाख्रासहित हाल ६० बाख्रा रहेका छन् ।

‘पहिला गाउँमा केही पनि सेवा सुविधा नहुँदा गाउँ छाडेर बजारतिर व्यवसायको खोजीमा पसियो, अहिले गाउँमै सबै सेवा सुविधा हुन थालेपछि बजारको व्यवसाय छाडेर पुनः गाउँ फर्किएर बाख्रा पाल्न थाले,’ उनले भने ।

गाउँमा सेवासुविधा नहुँदा पङ्गेनीले आफू बसोवास गरेको घर घडेरी, खेतीयोग्य जमीन छाडेर रामपुर बजारमा होटल व्यवसाय चलाउन पुगे । होटल व्यवसायबाट पनि उनले राम्रै कमाई गर्थे । अन्ततः गाउँकै माया, पाखा पखेराले उनलाई पुख्र्योली थलोमै व्यवसाय गर्ने माध्यम बनाइदिएको छ संघीयताले । यो व्यवसायका लागि पूर्वखोला गाउँपालिकाले खोर सुधार शीर्षकमा ५० हजार रुपैयाँ रकम अनुदानका साथै विभिन्न तालिम उपलब्ध गराएको छ ।

प्रशस्त घाँसपात, चरनको व्यवस्था भएको हुँदा बाख्रापालनमा सजिलो परेको उनको भनाइ थियो । ‘आफ्नै जग्गा जति पनि छ, भाडा तिर्नु परेन, गाउँकै पाखा पखेरामा काम गर्दा आनन्द लाग्ने गरेको छ, उकाली ओराली हिडडुल गर्दा स्वास्थ्यलाई पनि फाइदा गरेको छ,’ उनले भने ।

भविष्यमा करीब ४ सय बाख्रा पाल्ने लक्ष्य लिएका पङ्गेनीले यो व्यवसायमा एक जनालाई रोजगारी दिएका छन् । उनले आफ्ना खाली रहेका सबै जग्गामा उन्नत जातका घाँसपात लगाउने, व्यवस्थित तरिकाले आधुनिक खोर निर्माण गरेपछि बाख्रा थप गरी गाउँका बेरोजगार युवालाई रोजगार दिने सोंच बनाएका छन् । यहाँ उत्पादन भएको बाख्राको बजार रामपुर, तानसेन रहेको छ । पछिल्लो समय बाख्राको माग बजारमा बढ्दो रहेकाले पनि बाख्रापालनमै जोड दिएको उनले बताए ।

रामपुर नगरपालिका–१० मनभागा छाप बस्ने तुला सारुले पनि वैदेशिक रोजगारबाट फर्केपछि बाख्रापालन व्यवसाय शुरू गरेका छन् । स्थानीय जातका ४२ वटा बाख्रा उनको फार्ममा छ । ‘वैदेशिक रोजगारीमा सोचे अनुसारको काम नभएपछि गाउँ फर्केर बाख्रापालन शुरू गरेको छु, विदेशमा धन कमाउन भनेर ऋण खोजेर गएको राम्रो कमाउने आशा नै मरुभूमिमा विलिन भयो,’ उनले भने ।

रामपुर नगरपालिका क्षेत्रमा करीब २ दर्जन जति युवा व्यावसायिक बाख्रापालनमा लागेको रामपुर नगरपालिका पशु शाखा अधिकृत मोहनप्रसाद भट्टराईले बताए । बाख्रापालनबाट राम्रो आयआर्जन लिन थालेको उनको भनाइ थियो । पहिला व्यवसाय गर्न मन भएपनि सामान्य सरसामान, कामका लागि शहर बजार नै धाउनुपर्ने अवस्था थियो । यही समस्याले यहाँका धेरैले विभिन्न पेशा, व्यवसाय, छोराछोरीको पढाइको सिलसिलामा गाउँ छाड्न बाध्य भएका थिए ।

देशमा संघीयता कार्यान्वयनमा आएपछि भने गाउँ फर्केर पुनः पुरानै थाक थलोमा व्यवसाय गर्ने क्रम बढ्दो छ । स्थानीय सरकारले कृषि तथा पशुपालनमा जोड दिई किसानलाई व्यावसाय गर्न सहुलियत दरमा ऋण, अनुदान रकम उपलब्ध गराइरहेको छ ।

गाउँमा तरकारीखेती, पशुपालन, फलफूल खेतीमा आकर्षण बढ्दो छ । गाउँ–गाउँमा सडक सञ्जाल, विद्युत्लगायतका विभिन्न सेवा सुविधा पुग्न थालेपछि अहिले शहर बजारमा भन्दा ग्रामीण भेगमा चहलपहल बढ्दो छ ।

प्रकाशित मिति: : 2019-11-09 17:33:06

प्रतिकृया दिनुहोस्