भारतीय कदमबाट एनआरएन क्षुब्ध, नेपालसँगै उभिन प्रतिवद्ध

एनआरएनले जारी गरेको प्रेस विज्ञप्तीका साथ अध्यक्ष कुमार पन्त । तस्बिर : फाइल

गैरआवासीय नेपाली संघ (एनआरएन) ले नेपाली भूभाग मिचिएकोमा ध्यानाकर्षण भएको जनाउँदै अन्तर्राष्ट्रिय सिमाना रक्षाका लागि नेपाल सरकारको साथमा उभिन विदेशमा रहेका सम्पूर्ण नेपाली प्रतिबद्ध रहेको जनाएको छ । 

'भारतले जारी गरेको गलत नक्सा सम्बन्धमा' शीर्षकमा संघका अध्यक्ष कुमार पन्तले नोभेम्बर ८ मा एक प्रेस विज्ञप्ती जारी गर्दै संघको आधिकारिक धारणा बाहिर ल्याएका हुन् । 

विज्ञप्तीमा भारतले हालै जारी गरेको नयाँ नक्सामा नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भूभागका रुपमा देखाएको प्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै भारत सरकारको यो कार्यबाट विश्वभर छरिएर रहेका नेपालीहरु क्षुब्ध भएको बताइएको छ। 

विज्ञप्तीमा 'दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमा सम्बन्धी विषयहरु, कूटनीतिक माध्यमबाट वार्ताद्वारा दुवै पक्षाको सहमतिमा ऐतिहासिक दस्तावेज एवं प्रमाणका आधारमा टुङ्ग्याउनुको सट्टा एकपक्षीय ढंगबाट चालिएको कदमको भत्सर्ना गर्छौ' भनिएको छ । 

मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्डता जस्तो संवेदनशील विषयसँग सम्बन्धित यो मुद्दामा नेपाल सरकार, आम नेपाली नागरिक एवं विदेशस्थित गैरआवासीय नेपाली समुदाय एकसाथ उभिनु पर्छ भन्ने हाम्रो मान्यता हो, विज्ञप्तीमा भनिएको छ । 

प्रकाशित मिति: : 2019-11-09 00:49:55

प्रतिकृया दिनुहोस्