सरकारले रोक लगाएको ललिता निवासमा भाटभटेनीद्वारा गोदाम विस्तार

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बालुवाटारस्थित विवादित जग्गाको किनबेच र त्यहाँ भौतिक संरचना बनाउन रोक लगाए पनि निर्माण कार्य भने जारी रहेको छ। 

बालुवाटार जग्गा प्रकरणमा मुछिएका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले आफ्नो स्वामित्वमा रहेको गोदामघरलाई विस्तार गरिरहेका छन्। गैरआवासीय नेपाली संघको भवनबाट ठिक पश्चिममा रहेको गुरुङको गोदामको पछाडिको भागमा निर्माणकार्य जारी छ। 

गोदामका लागि ‘भू-माफिया’सँग जग्गा प्राप्ति गरेका गुरुङले भवन बनाउन अदालतलाई प्रभाव पारेका थिए। सरकारी जग्गामा गुरुङले गोदाम बनाउन लागेपछि त्यसलाई रोक्न महानगरले पत्राचार गरेको थियो। साथै, काठमाडौं महानगरपालिकाले नक्सा पास गर्ने कार्यसमेत रोकेको थियो।

त्यसपछि महानगरको कदमका विरुद्ध गुरुङ सर्वोच्च गएका थिए। न्यायाधीश दिपकराज जोशीलाई प्रभावमा पार्दै गुरुङले आफ्नो पक्षमा अन्तरीम आदेश लिएका थिए। न्यायाधीश जोशीले नक्सा पास गरी भवन निर्माणको स्वीकृति दिन अन्तरिम आदेश सुनाएका थिए। सोही आधारमा गोदाम घर बनाएका गुरुङले पछिल्लो समय गोदाम भवनको विस्तार गरिरहेका छन्।

तत्कालीन समयमा गुरुङको पक्षमा फैसला दिएका न्यायाधीश जोशी विवादित बनेका थिए। संसदीय समितिमा अधिवक्ताद्धय युवराज कोइराला र माधव पौडेलले जोशीले सरकारी जग्गामा नक्सापास गर्न अन्तरिम आदेश दिएकाले जोशीलाई प्रधानन्यायाधीशमा अनुमोदन नगर्न उजुरीसमेत दिएका थिए। जोशी प्रधानन्यायाधीशमा अनुमोदन समेत भएका थिएनन्।

प्रकाशित मिति: : 2019-11-07 18:24:57

प्रतिकृया दिनुहोस्