कास्की उपनिर्वाचन: १० स्वतन्त्र उम्मेदवारसहित २५ जना चुनावी मैदानमा, ३ जनाको उम्मेदवारी खारेज

बिएल

कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनमा २५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

आउँदो मंसिर १४ गते हुने उपनिर्वाचनका लागि बिहीबार उम्मेदवारहरुले उम्मेदवारी दर्ता गरेका हुन् । कास्की २ बाट निर्वाचित तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि यो क्षेत्र रिक्त रहँदै आएको थियो ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट अधिकारीकी पत्नी विद्या भट्टराईले उम्मेदवारी दर्ता गरेकी छिन् । भट्टराईको प्रस्तावकमा कृष्णबहादुर थापा र समर्थकमा प्रभा कोइराला छन् ।

यस्तै नेपाली कांग्रेसले खेमराज पौडेललाई उम्मेदवार बनाएको छ ।कांग्रेसबाट उम्मेदवारका आकांक्षी रहेका शोभियतबहादुर अधिकारी र देवराज चालिसेलाई प्रस्तावक र समर्थक राख्दै पौडेलले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

यसैगरी राप्रपाबाट रोमबहादुर भण्डारी, साझा पार्टीबाट रजनी के.सी, मङ्गोल अर्गनाइजेशन पार्टीबाट रियाज गुरुङ, समाजवादी पार्टीबाट धर्मराज गुरुङ, नेपाली कांग्रेस बी.पी. बाट चन्द्रबहादुर रानाभाटले उम्मेदवारी दिएका छन् ।

साथै नेपाल कम्युनिष्ट पार्टी मालेबाट टेकनाथ भण्डारी, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, राप्रपा संयुक्तबाट गंगा मल्ल र देशभक्त समाज पार्टीबाट वीरबहादुर विश्वकर्माले उम्मेदवारी दर्ता गराएका छन् ।

उपचुनावमा विवेकशील नेपाली पार्टीले स्वतन्त्र उम्मेदवारको रुपमा जमुना केसीलाई अघि सारेको छ । निर्वाचन आयोगले आफूहरुलाई चुनाव चिन्ह नदिएको र दल दर्ता पनि नगराएकाले पार्टीकै तर्फबाट स्वतन्त्र उम्मेदवारको रुपमा केसीको उम्मेदवारी दर्ता गरिएको पार्टीका अध्यक्ष मिलन पाण्डेले जानकारी दिए ।

केसीसँगै अन्य १० जनाले स्वतन्त्र उम्मेद्वारी दिएका छन् । स्वतन्त्रबाट उम्मेद्वारी दिनेमा उमनाथ गौतम, कमलजंग कुँवर, दीपक रेग्मी, नवराज बास्तोला, पुरुषोत्तम खनाल, यज्ञप्रसाद पंगेनी, रनबहादुर दमै, लक्ष्मीकुमारी भुजेल, सुनिलबहादुर कोइराला र सुनिल भुसाल छन् ।

उम्मेदवारी दर्ता गराएकामध्ये तीन जनाको नाम भने खारेज गर्ने निर्वाचन अधिकृतको कार्यालयले तयारी गरेको छ ।

राष्ट्रिय नागरिक पार्टीबाट नवराज घले, राष्ट्रिय मुक्ति आन्दोलन पार्टीबाट जयवन्त विक्रम शाह र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट उम्मेदवारी दिएका गजेन्द्र संवो लिम्बूको नाम समानुपातिकको सूचीमा रहेकोले उनिहरुले दिएको उम्मेदवारी खारेज गर्ने तयारीमा रहेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति: : 2019-11-07 18:23:38

प्रतिकृया दिनुहोस्