च्याम्पियन्स लिग: रोड्रिग्वको ह्याट्रिकमा रियल मड्रिडको फराकिलो जित

तस्बिरः एजेन्सी

रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलमा फराकिलो जित निकालेको छ ।

बुधबार राति भएको खेलमा मड्रिडले टर्किस क्लब गलातासारेलाई ६–० गोल अन्तरले हराएको हो । मड्रिडको जितमा रोड्रिग्वको तीन तथा करिम बेन्जिमाले दुई र सर्जियो रामोले एक गोल गरे ।

खेलको अग्रता रियलले चौथो मिनेटमा रोड्रिग्वको गोलबाट लिएको थियो । सातौ मिनेटमा उनैले रियलको अग्रता दोब्बर बनाएका थिए ।

रामोले १४ औ मिनेटमा पेनाल्टीमा गोल गर्दै रियललाई ३–० ले अघि बढाएका थिए ।

बेन्जिमाले ४५ औ मिनेटमा गोल गर्दै पहिलो हाफमा रियललाई ४–० ले अघि बढाएका थिए ।

बेन्जिमाले ८१ औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई ५–० मा पुर्याए । ईन्जुरी समयमा रोड्रिग्वेले गोल गर्दै ह्याट्रिक पुरा गर्दा ६–० को जित हत पारे।

समूह एमा रहेको रियलले ४ खेलबाट ७ अंक जोड्यो । रियललाई नकआउट चरणमा छनोट हुन मात्र २ अंक आवश्यक छ ।

हारसंगै टर्किस क्लब गलातासारे प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रकाशित मिति: : 2019-11-07 06:34:57

प्रतिकृया दिनुहोस्