इमर्जिङ कपका लागि नेपालको अन्तिम टोली घोषणा, पारस र सन्दीप नखेल्ने

फाइल तस्बिर

आगामी सातादेखि बंगलादेशमा हुने इमर्जिङ नेसन्स कपका लागि नेपालले १५ सदस्यीय अन्तिम टोलीको टुंगो लगाएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार ज्ञानेन्द्र मल्लको कप्तानीमा अन्तिम टोली घोषणा गरेको हो।

कुशल भुर्तेल पहिलो पटक सिनियर टोलीमा परेका छन्।

कात्तिक २८ देखि मंसिर ७ सम्म हुने इमर्जिङ टिम्स एसिया कपमा नेपाल समूह बीमा परेको छ। नेपालको समूहमा भारत, बंगलादेश र हङकङ छन्।

२०१८ एसिया कप छनोटमा नेपाल चौथो स्थानमा रहेको कारण हङकङ, युएई र ओमानले यसअघि प्रतियोगिता खेल्न पाउने भएका थिए। यूएईले प्रतियोगिता आफ्नो नाम फिर्ता लिएपछि नेपालले मौका पाएको हो।

समूह ए मा श्रीलंका, पाकिस्तान, अफगानिस्तान र ओमान छन्।

नेपालले भारतसँग कात्तिक २८, हङकङसँग कात्तिक ३० र मंसिर २ मा बंगलादेशसँग खेल्नेछ। समूह चरणका शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्नेछन्।

सेमिफाइनल मंसिर ४ र ५ गते हुनेछ। फाइनल मंसिर ७ मा हुनेछ।

सबै सहभागी टिमले १५ जनाको टिममा ११ जना खेलाडी २३ वर्ष मुनिको खेलाडी अनिवार्य राख्नुपर्नेछ भने ४ जना खेलाडी २३ वर्ष माथिको राख्न पाइनेछ। २३ वर्ष माथिको मात्र ३ जना खेलाडी मात्र अन्तिम-११ मा राख्न पाइनेछ।

गत वर्ष २०१८ मा पाकिस्तान र श्रीलंकामा आयोजना गरिएको इमर्जिङ्ग टिम्स कपमा नेपालले सहभागिताको मौका पाएको थिएन। टेस्ट राष्ट्र बाहेक हंगकंग, युएई र ओमानले उक्त प्रतियोगिता खेलेका थिए।

२०१७ मा नेपालले बंगलादेशमा प्रतियोगिता आयोजना हुँदा अन्तिम पटक प्रतियोगितामा सहभागिता जनाएको थियो। जुन बेला नेपाल समूह चरणबाट बाहिरिएको थियो। नेपाल पाकिस्तानसँग ६ विकेटले तथा बंगलादेशसंग ८३ रनले पराजित भएको थियो।  हङकङलाई ७ विकेटले पराजित गरेको थियो। उक्त प्रतियोगितामा नेपालको कप्तानी ज्ञानेन्द्र मल्लले गरेका थिए।

 

पारस र सन्दीप नखेल्ने

नेपाली टोलीका पूर्वकप्तान पारस खड्का र सन्दीप लामिछाने यूएईमा हुने टी टेनका कारण टोलीमा रहेका छैनन्।

यूएईमा हुने टी टेन लिग र इमर्जिङ कपको मिति एकै समयमा भएकाले उनीहरूले टी १० रोजेका हुन्।

दुवैले संघका लिखित रुपमा टी१० खेल्न नो अब्जेक्सन लेटर दिन आग्रह गरेका थिए।

टी टेन कात्तिक २९ देखि मंसिर ८ सम्म यूएईमा हुनेछ। पारस अबुधाबी टिमबाट खेल्ने छन्। त्यस्तै सन्दीप कर्नाटक टस्कर्सबाट खेल्ने छन्।

नेपाली टोली :

ज्ञानेन्द्र मल्ल(कप्तान), दीपेन्द्र सिंह ऐरी, शरद भेषवकर, सोमपाल कामी, करण केसी, विनोद भण्डारी, रोहित कुमार पौडेल, ललित नारायण राजवंशी, पवन सरार्फ, सन्दीप जोरा, सुसन भारी, इशान पाण्डे, मोहम्मद आरिफ शेख, अभिनाश बोहोरा र कुशल भुर्तेल

अफिसियल:

  •   व्यवस्थापक- प्रशान्तबिक्रम मल्ल
  •   प्रमुख प्रशिक्षक- उमेश पटवाल
  •   भिडियो एनालिष्ट- रमन शिवाकोटी
  •          फिजियो- विक्रम न्यौपाने
प्रकाशित मिति: : 2019-11-06 22:53:10

प्रतिकृया दिनुहोस्