ट्राफिक अध्ययनले भन्छ: दुर्घटनामा मृत्यु हुनेमा युवाहरू धेरै

बिएल

आइतबार दोलखाको मुडे देउरालीबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस सिन्धुपाल्चोकको सुकुटेमा दुर्घटना भयो।

सडकबाट सुनकोशी नदिमा खसेको उक्त बस तत्काल उद्धार हुन सकेन।

खोलामा पानीको बहावले उद्धारमा केही समस्या देखियो। अहिलेसम्म दुर्घटना पारि १७ जनाको मृत्यु भइसकेको छ। दर्जनौं घाइते भएका छन्।

दुर्घटनाको कारण के थियो? यसको उत्तर खोज्न नत प्रहरी नै लाग्यो। न त सवारीसँग सम्वन्धित अन्य संस्था नै।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार ८० प्रतिशतभन्दा बढी दुर्घटना चालकको लापरबाहीले भएका छन्। ‘धेरै दुर्घटना चालकको लापरबाहीले नै भएका छन्। हामी यसलाई कसरी कन्ट्रोल गर्ने भन्ने योजना ल्याउँदैछौं,’ महाशाखाका एसएसपी भीम ढकालले भने।

महानगरीय ट्राफिक महाशाखाको विगत ८ वर्षको तथ्याङ्क केलाउने हो भने चालकको लापरबाहीले हुने दुर्घटना क्रमिक बढेको छ।

महाशाखाको तथ्याङ अनुसार पछिल्लो तीन महिनामा ३ हजार १ सय ८१ वटा सवारी दुर्घटना भएका छन्। जसमा २ हजार ८ सय २७ वटा दुर्घटना चालकको लापरबाहीकै कारण भएको देखिएको छ।

आर्थिक वर्ष २०६८/६९ मा भएका ५ हजार ९६ वटा दुर्घटना मध्ये ४ हजार १ सय १९ वटा दुर्घटना चालकको लापरबाहीले भएका छन्। यसमा मापसे गरेर सवारी चलाएको कारण १ सय  ८९ वटा रहेका छन्।

यसरी मदिरा सेवन गरि सवारी दुर्घटना हुनेमा अधिकांश दुई पाङ्ग्रे सवारी साधन छन्। यसरी भएको दुर्घटनामा १ सय ४८ जनाले ज्यान गुमाउनुपरेको थियो।

आर्थिक वर्ष २०६९/७० मा पनि चालकको लापरबाहीबाट हुने दुर्घटनामा कमी आएन। ८ सय ७२ वटा बस दुर्घटनामा परे। यो वर्ष ४ हजार ७७० वटा सवारी दुर्घटना भएका थिए। जसमा ३ हजार ७ सय ७० वटा दुर्घटनामा चालकको लापरबाही भएको निष्कर्ष प्रहरीले निकाल्यो।

आर्थिक वर्ष २०७०/७१ मा चालकको लापरबाहीको कारण ४ हजार ५६ वटा सवारी दुर्घटना भए। दुर्घटनामा परि १ सय ४३ जनाले ज्यान गुमाए।

गत आर्थिक वर्षमा ८ हजार ५ सय ११ वटा सवारी दुर्घटना भएकोमा ७ हजार ५ सय २९ वटा दुर्घटना लापरबाहीकै कारण भएको देखिन्छ। जसमा सडकको अवस्थाको कारण तीन वटा मात्र दुर्घटना भएको प्रहरीको तथ्याङ्कले देखाएको छ।

आर्थिक वर्ष २०७४/७५ मा ६ हजार ३ सय ८१ वटा दुर्घटना भए जसमा ५ हजार ९ सय ६१ वटा दुर्घटना चालकको लापरबाहीको कारण भएको छ।

महानगरीय ट्राफिक प्रहरीको अनुसार सबैभन्दा धेरै दुर्घटनामा परेर युवा उमेर समूहका मानिसको मृत्यु हुने गरेको छ।

यसमा १७ वर्षदेखि ३५ वर्ष उमेर समूहका मानिसको मृत्यु हुने गरेको देखिएको छ। चालु आर्थिक वर्षमा ४४ जनाको दुर्घटनामा मृत्यु भयो। जसमा १७ देखि ३५ उमेर समुहबाट ३३ जनाले ज्यान गुमाएको देखिएको छ। त्यस्तै १६ वर्ष मुनिका दुई जनाको दुर्घटनामा मृत्यु भएको छ।

आर्थिक वर्ष २०६८/६९ मा १ सय १ सय ४८ जनाको मृत्यु भएकोमा ८९ जना १७ देखि ३५ वर्ष उमेर समूहका देखिए। त्यस्तै १६ वर्ष मुनीका १४ जना दुर्घटनामा परेका छन्। ३६ वर्ष माथिका ४५ जनाले दुर्घटनामा ज्यान गुमाएको देखिन्छ।

आर्थिक वर्ष २०६९/७० मा पनि १७ देखि ३५ उमेर समूहका युवाहरुको नै मृत्यु धेरै देखियो। १ सय ४८ जनाको मृत्यु भएकामा ७८ जना यही समूह बिचबाट नै परेको महाशाखाको तथ्याङ्कले देखाएको छ।

गएको आर्थिक वर्षमा २ सय ५४ जनाको दुर्घटनामा मृत्यु भयो। जसमा १ सय ४७ जना १७ देखि ३५ उमेर समूहका छन्। त्यसपछि धेरै ३५ वर्षभन्दा माथिका परेका छन्। यो समूहमा ९२ जनाको ज्यान गयो।

विगत ८ वर्षदेखिको प्रहरीको तथ्याङकले दुर्घटनामा सबैभन्दा धेरै युवा समूहको नै मृत्यु भएको देखाएको छ।

त्यसो त जनसङख्याको हिसाबले महिलाको सङ्ख्या धेरै भए पनि दुर्घटनामा मृत्यु हुनेमा पुरूषकै सङख्या बढी देखिएको छ। चालु आर्थिक वर्षको तीन महिनामा ४४ जनाको मृत्यु भएको मा ३५ जना पुरूष र ९ जना महिला रहेका छन्। आर्थिक वर्ष २०६८/६९ मा १ सय ४८ जनाको मृत्युमा ११५ जना पुरूष र ३३ जना महिला परे।

आर्थिक वर्ष २०६९/७० मा १२६ जना पुरूषको मृत्यु हुँदा २२ जना महिलाले ज्यान गुमाएका थिए। गएको आर्थिक वर्षमा २ सय ५४ जनाको दुर्घटनमा मृत्यु भयो। जसमा १ सय ९६ जना पुरुषले ज्यान गुमाएका थिए।

प्रकाशित मिति: : 2019-11-05 17:08:16

प्रतिकृया दिनुहोस्