कालङ्गा हाइड्रो पावरको सुरुङभित्र थुनिएका अर्का एक जनाको पनि शव फेला

फाइल तस्बिर

बझाङको बुंगल नगरपालिकास्थित कालङ्गा हाइड्रो पावरको सुरुङभित्र थुनिएका अर्का एक जनाको पनि शव निकालिएको छ ।

सोमबार सुरुङभित्र पठाइएको अक्सिजन पाइपमा अवरोध हुँदा ४ जना थुनिएका थिए ।

सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालाय कुरिनटारबाट गएको उद्धार टोली सोमबार थुनिएका चारमध्ये दैलेख जिल्लाको गुराँस नगरपालिका ३ का ३० बर्षका महेन्द्र शाही, अछाम जिल्लाको तुर्माखाँद गाँउपालिका ६ का २४ बर्षका महेन्द्र साउद र दैलेख जिल्लाको गुराँस नगरपालिका ३ का ३२ बर्षका करन शाहीको शव निकालिएको थियो ।

४ जना मजदुर सोमबार दिउँसो सुरुङ निर्माणमा प्रयोग भएको एउटा बलेरो गाडी र दुई वटा ट्रयाक्टरसहित निर्माणाधीन उक्त सुरुङभित्र काम गर्ने क्रममा फसेका थिए ।

उनीहरुसँगै रहेका अन्य दुई मजदुर भने बाहिर निस्कन सफल भएका थिए । हाइड्रो पावरको सुरुङमा थुनिएका मजदुरको उद्धारका लागि जिल्लास्थित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी खटिएका थिए ।

उनीहरुबाट उद्धारको सम्भावना नदेखिएपछि कुरिनटारबाट सशस्त्र प्रहरीको ६ जनाको टोली हेलिकोप्टरमार्फत् बझाङ पुगेको थियो ।

प्रकाशित मिति: : 2019-11-05 14:38:28

प्रतिकृया दिनुहोस्