एमसीसीसँग नेपाली यू–१९ टोली पराजित

बिएल

नेपाल भ्रमणमा रहेको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्धको एकदिवसीय खेलमा नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टोली पराजित भएको छ ।

आइतबार भएको खेलमा नेपाली टिम एमसीसीसँग ३८ रनले पराजित भएको हो ।

एमसीसीले दिएको ३ सय ३५ रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ९६ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि विकेटकिपर हरि बहादुर चौहानले सर्वाधिक ५२ रन जोडे । कप्तान रित गौतम ४५, लोकेश बम १८ रनमा पेभिलिएन फर्के ।

यस्तै खडक बहादुर बोहरा २६, विशाल विक्रम केसी १३ र अरुण ऐरी ३० रनमा क्याच आउट हुन पुगे ।

यसअघि किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको एमसीसीले ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ३४ रन बनाएको थियो ।

एमसीसीका लागि विल रोड्सले ९३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै मिल्स हामोन्ड र टम वेट्सलीले समान ६५ रनको अर्धशतकीय इनिङ्स खेले ।

एमसिसिका लागि बिलि गोडलम्यानले २२,विल भ्यान्डर्सपर्स २४, एड योउङ ४५ र माइल्स ह्याम्नोल्ड ६५ रन बनाए ।

नेपालका सागर ढकाल र शेर मल्लले समान २/२ विकेट लिए । यस्तै कुशल मल्ल र आकाश चन्दले १/१ विकेट लिए ।

अब एमसीसीले सोमबार नेपाली राष्ट्रिय टिमसँग एकदिवसीय खेल खेल्नेछ । एकदिवसीयपछि एमसीसीले नेपालसँग टी–ट्वान्टी र फस्ट क्लास क्रिकेट खेल्ने छन् ।

नेपाली क्रिकेट विकासको लागि तयार गरेको लिगेसी टुर अन्तर्गत एमसीसी टिम नेपाल आएका हुन् ।

प्रकाशित मिति: : 2019-11-03 17:03:07

प्रतिकृया दिनुहोस्