आलम पक्राउ प्रकरणः घाइतेलाई इँटाभट्टामा जलाएको निश्कर्ष, सोमबार अदालतमा पेश गर्ने तयारी

फाइल तस्बिर:बिएल

प्रहरीले सांसद अफताल आलम समेतको संलग्नतामा बम विस्फोटका घाइतेहरुलाई इँटा भट्टामा जलाएको निष्कर्षसहितको अनुसन्धान प्रतिवेदन तयार पारेको छ । 

जिल्ला प्रहरी कार्यालयले सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएपछि मुद्दा दर्ताको प्रक्रिया सुरु हुनेछ । आलमविरुद्ध बम विष्फोट, ज्यान मार्ने उद्योग र कर्तव्य ज्यान गरी तीन मुद्दा लगाउन प्रहरीले राय दिएको छ ।

आइतबार सार्वजनिक बिदा परेकाले आलमलाई सोमबार अदालतमा पेश गरेर अभियोग पत्र दायर गरिने स्रोतले बताएको छ । सोमबार अभियोग पत्र दायर भएमा मंगलबार बयान हुनेछ ।

‘अनुसन्धानका विविध पक्षहरु समेटेर हामीले मिसिल तयार गरेका छौं’, 'जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी नविन कार्कीले भने ‘अनुसन्धान प्रतिवेदनलाई अन्तिम रुप दिएर आजै सरकारी वकिलको कार्यालयमा बुझाउँछौं ।'

के छ प्रतिबेदनमा

प्रहरीले राजपुरमा बम विस्फोट भएको र त्यहाँ ज्यान गुमाएका वा घाइते भएकाहरुलाई इँटा भट्टामा लगेर जलाएको ठहर गरेको छ ।

अनुसन्धानका क्रममा प्रहरीले तत्कालीन प्रहरी प्रमुख ओमविक्रम राणा, तत्कालीन मध्यक्षेत्र प्रहरी प्रमुख डीआईजी किरण गौतम र तत्कालीन सरकारी वकिल ध्रुवमणि ज्ञवालीसँग बयान लिएको छ । यसैगरी घटनाका समयमा राजपुरमा खटिएका तत्कालीन प्रहरी निरीक्षक इन्द्र सुवेदी र राजीव बस्नेतले पनि बयान लिइएको छ ।

प्रहरीले घाइते सफी मोहम्मद र घटनामा प्रत्यक्षदर्शी एवं मतृक ओसी अख्तरका ससुरासँग पनि बयान लिएको छ ।प्रहरीको अनुसन्धानमा आलमसँगै फरार रहेका चारै जनालाई मुख्य दोषी भएको निष्कर्ष पनि निकालेको छ ।

प्रहरीको अनुसन्धान प्रतिवेदनमा ओसी अख्तरका ससुरा समसुल मियाँको बयानलाई बलियो प्रमाणका रुपमा पेश गरिएको छ । उनले विस्फोटमा घाइते भएकाहरुलाई ट्याक्टरमा हालेर इँटा भट्टामा लैजाँदै गरेको गहुँबारीमा लुकेर आफूले हेरेको बताएका छन् ।

यस्तै घटनामा परेर जीवित रहेका घाइते मोहम्मदको फरेन्सिक रिपोर्टले पनि सफीको छाती र पेटको लागेको घाउ बम विस्फोटबाटै भएको प्रमाणित गरेको छ । सफीले उपचार गरेको भारतको बिहारस्थित अस्पतालको रिपोर्ट ल्याइएको छ ।

घटनापछि स्थलगत अध्ययन गर्न गएको मानवअधिकार आयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्रको रिपोर्ट, ना १ त ६४७२ नम्बरको ट्याक्टरलाई पनि प्रमाणका रुपमा पेश गरेको छ । विस्फोटमा घाइते भएकाहरुलाई इँटा भट्टासम्म पुर्‍याउन प्रयोग भएको भनिएको यो ट्याक्टर उक्त समय आलमका भाइ महताब आलमको नाममा दर्ता भएको प्रहरीले जनाएको छ ।

२०६४ चैत २७ गते रौतहटको राजपुरमा भएको बम विष्फोटमा संलग्न रहेको आरोपमा रौतहट २ का सांसद आलम १९ दिनदेखि प्रहरी हिरासतमा छन् ।

प्रकाशित मिति: : 2019-11-01 15:29:21

प्रतिकृया दिनुहोस्