कैलालीको बर्दगोरीयामा बसको ठक्करबाट २ जना बालकको मृत्यु भएपछि मृतकका आफन्तहरुले पूर्वपश्चिम राजमार्गको बौनियाँ सडकखण्ड अवरुद्ध पारेका छन् ।
महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको महाकाली यातायातको ना ७ ख ६०४६ नम्बरको बसले साझा चौक नजिकै साइकलमा सवार दुई बालकलाई बिहीबार साँझ ५ बजेतिर ठक्कर दिएपछि सडकखण्ड अवरुद्ध पारेका हुन् ।सडक अवरुद्ध भएपछि दर्जनौ सवारीसाधन र सयौं यात्रुहरु राजमार्गमा नै अलपत्र परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डीएसपी) दक्ष कुमार बस्नेतका अनुसार उक्त बसको ठक्करबाट बर्दगोरीया गाउँपालिका १ साझा चौकका ८ वर्षीय अंशु चौधरी र घोडाघोडी नगरपालिका ८ का १२ वर्षीय लक्ष्मण चौधरीको मृत्य भएको थियो ।
बसको ठक्करबाट गम्भीर घाइते भएका अंशुको भारतको लखनउ र लक्ष्मणको नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको डीएसपी बस्नेतले जानकारी दिए ।
बस र बस चालकलाई इलाका प्रहरी कार्यालय लम्कीले बिहीबार नै नियन्त्रणमा लिएको थियो ।