छठ पर्वको दोस्रो दिन: आज खरना मनाईंदै

फाइल तस्बिर:बिएल

तराईबासीको ठूलो चाड छठ पर्वको आज (शुक्रबार) दोस्रो दिन खरना तथा रसियाव रोटी मनाइदैछ। बिहिबारदेखि विधिवत नहाय, खाय गरेर सुरु भएको छठ व्रत कार्तिक शुक्ल पक्षको पञ्चमी तिथिमा खरनाको विधि गरेर मनादैछ।

चार दिनसम्म मनाईने छठ ब्रतको दुई दिनको खरनादेखि सुरु हुन्छ। खरनाको दिनदेखि नै ब्रतालुहरु दिनभरी निर्जला र निराहार ब्रत बस्ने गर्दछन्। खरनाको दिन घरलाई गाईको गोबरले लिपपोत गरी पुजा स्थललाई शुद्ध बनाइन्छ। छठको लागि धोई सुकाई राखिएको गहुँलाई आज शुद्धताका साथ पिसाएर पुजा घरमा भित्र्याइन्छ। कठोर र शुद्धताको पर्वुको रुपमा मनाईने छठको अवसरमा आसपासमा पिठो पिस्ने मिलहरु समेत धोएर सफा गरिएको छ।

छठको ब्रतमा चाहिने प्रसादको लागि पनि कठिन नियम र अनीवार्य चाहिने भएकाले घरका हरेक सदस्य पुजाको सामग्रीहरु किनमेल गर्न व्यस्त रहेका छन् ।

खरनामा पकाईने विशेष प्रसादलाई रसियाव रोटी भनिन्छ। जसलाई पकाउन माटोले बनाइएको नयाँ चुल्हो तथा आपँको दाउरा प्रयोग गरिन्छ। रसियावलाई अगहनीको चामलमा गुड तथा शख्खर हालेर दुधबाट खिर बनाइन्छ भने विशेषरुपले चोखो पारिएको गहुँको पिठोको रोटी माटोको भाडोमा पकाइन्छ।

खरनाको साँझमा चन्द्रमा उदाएपछि ब्रतालुले पुजा कोठामा छठिमाईको आह्वान गरी केराको पातमा रसियाव रोटीको भोग निकाली त्यसमा मुला, केरा, स्याउ लगायतका फलफुल राखी ‘रसियाव रोटी’लाई अक्षता, सिन्दुरले पूजा गरिन्छ। पुजा सकिएपछि दिनभरी निराहार बसेका ब्रतालु अग्नी तथा गाईलाई पहिलो अशं दिएपछि प्रसादको रुपमा खाने गर्छन्।

छठिमाईको आशिर्वाद लिएर परिवारका हरेक सदस्यले प्रसादको रुपमा खीर रोटी खान्छन्। छठ नहुने छिमेकिको घरमा प्रसादको रसियाव रोटीलाई दिने परम्परा रहेको छ। यसरी विधिवत् रुपमा खरना सकेपछि ब्रतालु लगायत परिवारका अन्य सदस्य भोलि हुने छठको मुख्य पुजाको लागि ठेकुवा पुडि, पिडकिया, केसार लयायतका परिकार बनाउन लाग्छन्।

पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपसना गरी यो पर्व मनाउने गरिन्छ ।

महाभारतकालमा द्रौपतिसहित पाण्डवहरुले अज्ञात वासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरेको र सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको कथन छ ।

छठको अवसरमा जनकपुरका गंगा सागर, धनुष सागरसहितका दर्जनौ पोखरी र वीरगञ्जको घडीअर्वा पोखरीमा पूजा गर्न भक्तजनको विशेष भीड लाग्ने गर्दछ ।

काठमाडौंमा रानीपोखरी, कमलपोखरी, वाग्मती किनार, शंखमूललगायतका स्थानमा पनि छठ मनाइन्छ ।

प्रकाशित मिति: : 2019-11-01 10:45:10

प्रतिकृया दिनुहोस्