जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले कृष्णनगरमा अनिश्चितकालका लागि कर्फ्यु जारी गरेको छ । लक्ष्मी पूजाको मूर्ति विसर्जनका क्रममा सुरु भएको विवादले ठूलो रुप लिएपछि त्यस क्षेत्र कर्फ्यु जारी गरेको हो ।
बुधबार साँझदेखि सुरु भएको विवादले बिहीबार विहान ठूलो रुपम लिएपछि स्थिति नियन्त्रणका क्रममा केही प्रहरीसमेत घाइते भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
लक्ष्मी पूजा गरिसकेपछि हिन्दू समुदायका व्यक्तिहरुले कृष्णनगरको झन्डीनगरस्थित नदीमा मूर्ति विसर्जन गर्न लगेका थिए । तर, मुस्लिम समुदायका युवाहरुले मूर्ति विसर्जनमा अवरोध गरेपछि तनाव उत्पन्न भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
कपिलवस्तुका प्रहरी प्रमुख (एसपी) दीपशम्शेर राणाले स्थिति नियन्त्रणमा ल्याउन बिहान ११ बजेदेखि कर्फ्यु आदेश जारी भएको जानकारी दिए ।
‘तनावको स्थिति सिर्जना भएपछि नियन्त्रणमा ल्याउन कर्फ्यु आदेश जारी भएको हो,’ राणाले भने, ‘प्रहरीले अहिले स्थितिलाई नियन्त्रणमा ल्याउन प्रयास गरिरहेको छ ।’
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले कृष्णनगर भन्सार कार्यालयदेखि उत्तरतर्फ ७ सय मिटर तथा दक्षिण तर्फ पनि ७ सय मिटर र पूर्वतर्फ ३ सय मिटर क्षेत्रभित्र लागू हुने गरी कर्फ्यु आदेश जारी गरेको हो ।
विवादलाई नियन्त्रणमा लिन खोज्दा उनीहरु प्रहरीमाथि नै जाइलागेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको दावी छ ।