युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले बुल्गेरिया फुटबल एसोसिएसनलाई कारबाही गर्ने भएको छ ।
युरोकप छनोट अन्तर्गत घरेलु मैदानमा इंग्ल्याण्डका खेलाडीलाई रंगभेदीय दुर्व्यवहार भएपछि बुल्गेरियालाई यूईएफएले कारबाहीको तयारी गरेको छ ।
गत असोजमा इंग्ल्यान्डले बुल्गेरियामाथि ६-० को जित निकाल्दा इंग्ल्याण्डका खेलाडीलाई बुल्गेरिया समर्थकले रंगभेदीय दुर्व्यवहार गरेका थिए ।
यूईएफएको अनुशासन कमिटिले सोमबार बुल्गेरिया फुटबलका पदाधिकारीलाई भेटेर कारबाहीबारे जानकारी गराउने तयारी गरेको बीबीसीले जनाएको छ ।
बीबीसीका अनुसार बुल्गेरियालाई यूईएफएले युरोकप छनोटबाट निष्काशन समेत गर्न सक्ने सम्भावना रहेको छ । यस्तै आगामी खेल रंगशाला बन्द गरेर समर्थकविहिन खेलाउनु पर्ने कारबाही समेत हुने जनाईएको छ ।
खेलको दौरान बुल्गेरियाका समर्थकले इंग्ल्याण्डका काला वर्णका खेलाडीलाई लक्षित गर्दै नाजी सलुट र बादरको आवाज निकाल्दै विपक्षि टिमका खेलाडीलाई गिज्याएका थिए । जसको कारण दुई पटक खेल रोकिएको थियो ।
इंग्ल्याण्डका खेलाडीमाथि रंगभेदीय दुर्व्यवहार भएपछि बुल्गेरिया फुटबल युनियनका अध्यक्ष बोरीस्लाभ मिहाय्लोभले पदबाट राजिनामा समेत दिएका थिए ।यस्तै प्रहरीले आधा दर्जन बढी समर्थकलाई पक्राउ गरेको थियो ।