विश्व महाशक्तिको टकराव र प्रभूत्व विस्थापन एवं प्रतिस्थापनको लडाइँमा शक्तिकेन्द्रको आँखा पूर्वको मध्यम आकारको सानो हिमाली राज्य नेपालमा केन्द्रित छ । यो टकरावमा उत्तरी छिमेकी चीन विश्व व्यवस्थाको नेतृत्वका लागि मैदानमा भएकाले त्यसको असर स्वाभाविक रुपमा नेपालमा पर्छ नै ।
स्वाभिमानको गौरवपूर्ण इतिहास बोकेको स्वतन्त्र, अटल र बहादुरको प्रतिक यस मुलुकले आफ्नो एउटा कालखण्डमा सीमानाका लागि पूर्वको विशालकाय शक्ति चीन र पश्चिमको निर्वाद साम्राज्य ब्रिटिशको इस्ट इन्डिया कम्पनीसँगको लडाइँमा आफ्नो अस्तित्व कायम राख्यो । दोस्रो विश्वयुद्धमा यो सुरक्षित र स्वतन्त्र थियो । त्यसैले यसलाई सोझैं लडाइमा होम्न नसकिएपछि पश्चिमाहरुले यहाँका बहादुर नव जवानहरूलाई भाडाको सेनामा भर्ति गरे र त्यो क्रम आज पनि जारी छ ।
सन् १८१६ मा यसले आफ्नो सीमा रेखाका लागि ब्रिटिश फौजसँग सम्झौता गर्नुपर्यो । ब्रिटिशलाई नेपालको ठूलो सैन्य सहयोगका बाबजुद पनि जाँदा जाँदै उनीहरूले टिष्टा र काँकडाको भूमि फिर्ता गरेनन् बरु त्यो भूमि भारतीयलाई केही नबोली छोडेर गए ।
त्यसपछि शोभियत संघ र अमेरिकाबीच झण्डै ४० वर्ष लामो सुसुप्त शितयुद्ध उत्कर्षमा पुग्दासम्म पनि पश्चिमाका लागि नेपालको भूमि रणनीतिक महत्त्वको केन्द्रमै रह्यो । सन् १९६० को दशकको सुरक्षा संवेदनशीलता नियन्त्रण गर्न नेपाललाई महेन्द्र जस्तो स्यालझैं चतुर र चितुवाझैं स्फूर्तिलो शासक प्राप्त थियो । उनको पञ्चायती निरंकुशता मुलुकभित्रको खुलापन र प्रजातन्त्रका लागि अवरोधक भएपनि अन्तर्राष्ट्रिय शक्तिका अघि उनी रणनीतिक चातुर्यता प्रदर्शन गर्न सक्थे ।