अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एसियाली फुटबल महासंघ (एएफसी) ले जरिवाना तिराउने भएको छ ।
एएफसीको बुधबार बसेको बैठकले एन्फाले गलत तरिकाले क्लबहरुलाई 'लाईसेन्स' वितरण गरेको भन्दै १० हजार अमेरिकी डलर जरिवाना तिराउने निर्णय गरेको हो ।
एएफसीका अनुसार क्लब लाईसेन्सका लागि आवश्यक शर्त समेत पुरा नगरेका क्लबलाई 'लाईसेन्स' वितरण गरेपछि जरिवाना गर्ने निर्णय गरेको हो । एएफसीले सोही गल्ती पुनः दोहोर्याए दुई बर्षको प्रतिबन्धसहित ३५ हजार डलरभन्दा बढी जरिवाना गर्ने चेतावनी दिएको छ ।
फिफाले एएफसीलाई सन् २०१९ भित्र आफ्ना सदस्य राष्ट्रलाई क्लब 'लाईसेन्सिङ' प्रणाली शुरु गर्न निर्देशन दिएको थियो । सोहीअनुसार एन्फाले 'ए डिभिजन' लिग खेल्ने ९ क्लबलाई लाईसेन्सका लागि प्रस्ताव गरेको थियो भने उनै ९ क्लबलाई एएफसीले क्लब लाईसेन्स प्रदान गरेको थियो ।
एएफसीले क्लब 'लाईसेन्स' पाएका टिमलाई मात्र एएफसीको आधिकारिक प्रतियोगितामा सहभागिता गराउँदै आएको छ । सोही अनुसार २०७५ को लिग च्याम्पियनको हैसियतमा मनाङ मर्स्याङ्दी क्लबले एएफसी कप खेलेको थियो ।