चितवन राइनोजले वुमन च्याम्पियन्स लिग क्रिकेटको उपाधि जितेको छ ।
बिहीबार भएको फाइनल भिडन्तमा क्याट क्विन काठमाडौंलाई ४५ रनले हराउँदै चितवन च्याम्पियन बनेको हो । त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ४ विकेट गुमाएर ११२ रन बनायो ।
चितवनको लागि काजल र कञ्चन श्रेष्ठले पहिलो विकेटका लागि ४९ रनको साझेदारी गरे । काजल २१ र कञ्चन १९ रनमा आउट भइन् । त्यसपछि सुमन खतिवडाले रित कनोजियासँग ३५ रनको साझेदारी गरिन् । सुमन २९ रनमा आउट भइन् ।
तर कप्तान इन्दु बर्माले पाँचौं विकेटका लागि प्यारी चौधरीसँग मिलेर अविजित २६ रनको साझेदारी गरे ।११३ रनको विजयी लक्ष्य लिएर मैदान उत्रिएको काठमाडौंले २० ओभरमा सबै विकेट गुमाएर ६७ रन मात्र बनाउन सक्यो ।
उसका लागि अप्सरी बेगमले १५ तथा ममता थापा र इश्वरी विष्टले समान १३/१३ रन बनाउनु बाहेक कुनै पनि ब्याट्सवुमनले दोहोरो अंक जाड्न सकेनन् ।
काठमाडौंलाई सस्तैमा समेट्ने क्रममा सुमन र रितु कनोजियाले ३/३ विकेट लिइन् । रेखा रावलले २ विकेट हात पारिन् ।