बिहिबार, २९ अक्टोबर २०२६

एनपीएलमा पाकिस्तानी खेलाडी नहुँदा दुःखी भएँ– शोएब अख्तर

News Image
• • •

नेपालीको क्रिकेट मोहलाई नजिकबाट नियालेका क्रिकेट स्टार शोएब अख्तरले जारी नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणमा पाकिस्तानी खेलाडीले सहभागी हुन नपाएको विषयलाई पाकिस्तानी क्रिकेट बोर्ड (पीबीसी) समक्ष कुरा राख्ने बताएका छन्। 

पाकिस्तान क्रिकेट बोर्डले विदेशी क्रिकेट लिग खेल्न अनुमति माग्ने आफ्ना खेलाडीले २५ हजार अमेरिकी डलर बुझाउनुपर्ने सर्त अगाडि सारेपछि एनपीएलमा पाकिस्तानी खेलाडीको सहभागिता अन्योलमा परेको थियो।

जसका कारण कर्णाली याक्सका तर्फबाट एनपीएल खेल्न नेपाल आएका पाकिस्तानी टी–२० कप्तान शाहिबजादा फरान फर्कन बाध्य भएका थिए। यसैगरि अन्य टिमले भित्र्याउने तयारी गरेका खेलाडी समेत आउन पाएनन्। 

 पहिलो पटक नेपाल आएका राहुलपिण्डी एक्सप्रेस नामले चर्चित अख्तरले मंगलबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशाला अवलोकनपछि नेपाल क्रिकेट संघका पदाधिकारीसँग कुराकानीका क्रममा यस्तो बताएका हुन्। 

‘यस्तो कुराले मलाई दुःखी बनाएको छ। मैले यसबारे विस्तृत थाहा पाएको छैन तर यहाँबाट फर्केपछि पीसीबीसँग अवश्य कुरा राख्नेछु,’ अख्तरलाई उधृत गर्दै क्यानका उपाध्यक्ष रोशन सिंहले भने।

साथमा आफूले नेपाल भ्रमणमा देखेको क्रिकेट मोह, बढ्दो पूर्वाधार क्षमताबारे पनि पीबीसीलाई जानकारी गराउने अख्तरले बताए। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!