शनिबार, १० अक्टोबर २०२६

शंकरले प्रकाश पौडेलको नाम लिँदा रिसाए ओली

News Image
• • •

बिहीबारदेखि पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी स्थायी कमिटी बैठकमा एमालेले केही केन्द्रीय सदस्य मनोनीत गरेको छ।

सचिव महेश बस्नेतले जानकारी गराएअनुसार शनिबारको बैठकमा १३ केन्द्रीय सदस्य मनोनीत गरिएको हो।

महासचिव शंकर पोखरेलसँग परामर्श नै नगरी सदस्यता थप्ने प्रस्ताव ल्याइएको र शंकरले ओलीको फोन नउठाएको चर्चाकाबीच स्थायी कमिटीले केन्द्रीय सदस्य थपेको छ।

बैठकमा ओलीले आफ्नो प्रस्ताव सुन्नै नचाहेपछि महासचिव पोखरेल चिढिएको खुलेको छ। बैठकमा सहभागी एक नेताका अनुसार पोखरेलले प्रकाश पौडेल, सुमन पुरीलगायत युवा नेताहरूलाई केन्द्रीय कमिटीमा समावेश गराउनुपर्ने राय दिएपछि ओली रन्किएका थिए।

ओलीलाई शान्त पार्दै शंकरले ‘अखिलको अध्यक्षमा थोरै मतले पराजित भए पनि युवामाझ राम्रो छवि भएको, आफ्नो तर्फबाट युवाहरूको लागि केही गरिरहेको प्रकाश पौडेलजस्तो युवालाई पार्टी कमिटीभन्दा बाहिर राख्नुभन्दा केन्द्रीय कमिटीमा समावेश गराउनु ल्याउनु उपयुक्त हुन्छ’ भन्ने सुझाव दिएका थिए।

तर, ओलीले प्रकाशको नाम सुन्नै चाहेनन्। ती नेताका अनुसार शंकरले प्रकाशको बारेमा थप प्रकाश पार्न खोज्दा ओलीले रुखो शैलीमा जवाफ फर्काए, ‘को? त्यो प्रकाश? पार्टी हितविरुद्ध काम गर्ने? नेतृत्वविरुद्ध लाग्ने? पार्टी हितविरुद्ध लाग्नेलाई आममाफी दिने कुरा भइरहेका बेला झन् पुरस्कार दिनुपर्ने? त्यस्ता अराजकहरूलाई कारबाही गर्नुपर्नेमा पुरस्कार दिने कुरा महासचिवको मुखबाट आउनु शोभनीय भएन।’

ओलीको जवाफ सकिन नपाउँदै उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले शंकरको रायको समर्थन गर्दै प्रकाशजस्तो गण्डकीको जल्दोबल्दो युवालाई छुटाउन नहुने सुझाव दिएका थिए।

‘गण्डकीको त्यतिको जल्दोबल्दो युवालाई नछुटाउन पाए हुन्थ्यो अध्यक्ष ज्यु। समय सन्दर्भ र मुद्धा अनुसार फरक मत देखिनु अराजकता हो र? होइन नि। हामीले नै ल्याउन नचाहेको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई त ल्याइसकियो। उहाँलाई नै सहयोग गरेका साथीलाई यति धेरै घृणा गर्नुपर्ने कुनै कारण छैन।’

त्यसपछि ओली रिसले रन्किँदै भने, ‘भयो भयो, अब अर्को विषयमा जाऔं।’

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!