बुधबार, ०९ सेप्टेम्बर २०२६

भदौं २४ मा घर मात्रै होइन, ओलीलाई नै पन्छाउने योजनाः राधिका शाक्य

News Image
• • •

एमाले अध्यक्ष केपी ओलीकी धर्मपत्नी राधिका शाक्यले बालकोटको घरको स्मृतिमा लेखेको ‘सपनाको भग्नावशेष’ पुस्तक सार्वजनिक गरेकी छन्।

बुधबार बालकोटस्थित ओलीको क्षतिग्रस्त घरमा आयोजित कार्यक्रममा शाक्यले पुस्तक सार्वजनिक गरेकी हुन्। पुस्तकमा उनले घरमा भएको आगजनी तथा त्यससँग जोडिएका आफ्ना अनुभव र पीडालाई समेटिएको बताएकी छन्।

पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै शाक्यले २०८२ साल भदौ २४ गते आफ्नो घर सम्पत्ति मात्रै जलाउने योजना नभएको दाबी गरिन्। ओलीलाई नै सधैँका लागि पन्छाउने उद्देश्यसमेत रहेको उनको भनाइ थियो।

‘हाम्रो घर सम्पत्तिमात्र जलाउने योजना खरानी ग्याङको थिएन होला। मूलतः केपी सरलाई नै सधैँका लागि पन्छाउने पहिलो उद्देश्य ती खरानी ग्याङको हुनुपर्छ। तर हामी बच्न सफल भयौँ,’ उनले भनिन्।

गत वर्ष नै आफूहरूलाई मारिएको भए अहिले कालो दिवससँगै आफ्नो मृत्युको वर्षको पुण्यतिथि मनाइरहेको अवस्था हुने उनले बताइन्।

शाक्यले आफूहरूमाथि विभिन्न बहाना बनाएर मानसिक तनाव दिने काम अझै नरोकिएको गुनासो गरिन्। आफूहरू बिना कसुर अपराधी भएको भ्रम फैलाउने प्रयास भइरहेको भन्दै उनले आपत्ति जनाइन्।

‘एक थोपा रगत र एक मुठी सास रहेसम्म यो देशको सेवा गरौँला भन्ने पवित्र भावनाका साथ बाँचिरहेका हामीलाई अनेकौँ आरोप र लाञ्छना लगाउन छोडेका छैनन्,’ उनले भनिन्।

उनले बालकोटको घरमा विभिन्न विषयका दशौँ हजार पुस्तकलाई व्यवस्थित गरी नयाँ पुस्ताका लागि सार्वजनिक पुस्तकालयसमेत स्थापना गर्ने आफ्नो इच्छा आगजनीसँगै खरानी भएको बताइन्।

उनले भनिन्, ‘हामीसँग भएका विविध विषयका दशौँ हजार पुस्तकलाई व्यवस्थित गरी एउटा पब्लिक पुस्तकालयसमेत नयाँ पुस्तालाई छोडेर जाने इच्छा थियो। तर आज ती मेरा सबै सपना खरानी भएका छन् ।’

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!