‘फल सिजन’को मध्य समय चल्दै गर्दा क्यानडामा भोलि सोमवार (२१ अक्टोवर) संघीय निर्वाचन हुँदैछ । मेपलका बोटले रङ्गीन पातहरु गुमाइरँदा संघीय निर्वाचन हुन लागेको हो । यो निर्वाचनले आगामी चार बर्षका लागि नयाँ सरकार चुन्नेछ ।
‘हाउस अफ कमन्स’ अर्थात् संसदको तल्लो सदनका लागि यो क्यानडाको ४३ औं निर्वाचन हो, जो ४/४ बर्षमा हुन्छ । आफ्नो मतमार्फत क्यानेडियन नागरिकले देशको ताला चाबी कुन राजनीतिक पार्टीलाई सुम्पिने भन्ने निर्णय गर्नेछन् ।
तोकिएको निर्वाचनका दिन देश बाहिर हुने वा काममा व्यस्त रहने क्यानेडियनका लागि अग्रिम मतदानको व्यवस्था थियो । जसको हजारौंले उपयोग गरिसकेका छन् । बाँकीका लागि सिंगो क्यानडाभर सोमवार एकैपल्ट निर्वाचन हुँदैछ ।
चुनावमा सामेल पार्टीले झण्डै ४० दिने क्यानडाव्यापी प्रचार सकेका छन् । १० प्रोभिन्स र तीन टेरिटोरी भएको क्यानडामा ‘कोभन्दा को कम’कै शैलीमा चुनावी प्रचार प्रसार गरिएको छ । उम्मेदवारहरु मतदानको संघारमा छन् ।
यसपल्टको निर्वाचनले शान्ति, एकता र सहिष्णुता कायम गर्दै क्यानेडियनलाई शितलता प्रदान गर्ने सरकार दिलाओस्– मेपलको वृक्षजस्तै । किनकि, झण्डै चार करोड क्यानेडियनलाई जोड्ने यहाँको राष्ट्रिय चिन्ह पनि यही मेपलको पात हो ।
क्यानडाको यो निर्वाचनबारे थप जान्न चाहनुहुन्छ ? पढ्नुहोस्, ‘ब्रेक एण्ड लिंक्स’ले तयार पारेका १६ तथ्य ।
१, यो नेपालको प्रतिनिधिसभा भनेजस्तै क्यानडाको ‘हाउस अफ कमन्स’का लागि हुँदै गरेको निर्वाचन हो । ‘हाउस अफ कमन्स’ क्यानडाको संसद हो । राजधानी अटोवामा संसद बैठक हुन्छ ।
२, यहाँको संसदीय निर्वाचनमा नेपालमा जस्तै ‘पहिलो हुने निर्वाचित हुने’ प्रणाली अपनाइएको छ । अर्थात्, प्रतिस्पर्धीमध्ये जसको बढी भोट आयो उसैलाई विजयी घोषणा गरिन्छ ।
३, यसपल्ट ४३ औं संसदीय निर्वाचन हुँदै गरेको हो । गर्भनर जनरल जुली पेयटले सेप्टेम्बर ११ मा विधिसम्मत अघिल्लो संसद विघटन गर्दै अक्टोवर २१ लाई निर्वाचन घोषणा गरेकी हुन् ।
४, १८ बर्ष उमेर पुगेका क्यानेडियन नागरिकले निर्वाचनमा मतदान गर्न पाउनेछन् । त्यसनिम्ति परिचय खुल्ने किसिमका फोटोसहितका परिचयपत्र अनिवार्य भनिएको छ ।
५, ‘हाउस अफ कमन्स’मा ३३८ सिटका लागि निर्वाचन हुन लागेको हो । १० प्रोभिन्सबाट ३३५ र तीन टेरिटोरीबाट एक/एक जना गरी ३३८ सांसद निर्वाचित हुनेछन् ।
६, सबैभन्दा धेरै सिट अन्टारियो प्रोभिन्समा छ । १२१ सिटका लागि यहाँ चुनाव हुनेछ । प्रिन्स एड्वार्ड आइसल्याण्ड प्रोभिन्सबाट भने चार सांसद मात्रै निर्वाचित हुनेछन् ।
७, यस्तै, क्युबेकमा ७८, ब्रिटिश कोलम्बियामा ४२, अल्बर्टामा ३४, सास्काचुनमा १४, मानिटोवामा १४, नोभास्कोसियामा ११, न्यु ब्रन्सविकमा १० र न्यु फाउण्डल्याण्ड एण्ड ल्यावराडोर प्रोभिन्समा ७ सिटलाई प्रतिस्पर्धा हुनेछ ।
८, नर्थवेष्ट, युकोन र नुनाबुत, यी तीन टेरिटोरीबाट एक/एक सांसदले ‘हाउस अफ कमन्स’मा प्रतिनिधित्व गर्नेछन् ।
९, तीनसय ३८ मध्ये एक सय ७० सिट जित्ने दलको बहुमत हुनेछ । अघिल्लोपल्टे ‘लिबरल पार्टी अफ क्यानडा’ले एक सय ८४ सिट जितेर जष्टिन नेतृत्वमा बहुमतको सरकार बनाएको थियो ।
१०, यसपल्ट पनि निवर्तमान प्रधानमन्त्री ट्र्युडोको ‘लिबरल’ र एण्ड्रिउ चिअरको ‘कन्जरवेटिभ पार्टी अफ क्यानडा’बीच नै मुख्य चुनावी प्रतिस्पर्धा हुँदैछ ।
११, ‘लिबरल’, ‘कन्जरवेटिभ’ र ‘न्यु डेमोक्रेटिक पार्टी’ तीन मात्र त्यस्ता पार्टी हुन्, जसले सबै अर्थात् तीन सय ३८ क्षेत्रमै उम्मेदवार खडा गरेका छन् ।
१२, सन् २०१५ को निर्वाचनमा ‘लिबरल’ १८४ सिटसहित पहिलो स्थानमा थियो भने ‘कन्जरवेटिझ’ र ‘न्यु डेमोक्रेटिक’ले त्रमशः ९९ र ४४ सिट हासिल गरेका थिए ।
१३, यसपल्ट पनि ट्र्युडो क्युबेकस्थित पापिन्यउ, चिअर सास्काचुनको रेजाइना क्युएप्पल र ‘नेशनल डेमोक्रेटिक फ्रण्ट’का जगमीत सिंह ब्रिटिश कोलम्बियाको बुरनाबे साउथ क्षेत्रबाट चुनाव लड्दैछन् ।
१४, चुनावमा माथिका तीनसहित ‘ब्ल्क क्युवेस्वा’, ‘ग्रीन पार्टी अफ क्यानडा’, ‘पिपुल्स पार्टी अफ क्यानडा’ र ‘प्रोग्रेसिभ क्यानेडियन पार्टी’ले पनि उम्मेद्वार खडा गरेका छन् ।
१५, क्यानडाका जल्दाबल्दा विषय आप्रवासन, जलवायु परिवर्तन, बच्चाको लालनपालन, स्वास्थ्य, कर, पाइपलाइन, रोजगारी आदिलाई चुनावी मुद्दा बनाएर उम्मेद्वारहरु प्रतिस्पर्धामा छन् ।
१६, सर्वेक्षणले ‘लिबरल’ र ‘कन्जरवेटिभ’वीच कडा टक्कर हुने देखाएका छन् । सर्वेक्षणमा सहभागीमध्ये कतिपयले कुनै पनि पार्टीले स्पष्ट बहुमत नल्याउने पनि बताइरहेका छन् ।