आलमले जिल्ला अदालतमा बयान दिने

फाइल तस्बिर

कांग्रेस सांसद मोहम्मद अफताव आलमले आइतबार जिल्ला अदालतमा बयान दिने भएका छन् ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनताका आफ्नो घरमा बम बनाइरहेको बेला विष्फोट भएको र विष्फोटमा घाइते भएकाहरुलाई इँटा भट्टामा जिउँदै जलाएर मारेको आरोपमा आलमलाई प्रहरीले २६ असोजमा पक्राउ गरेको थियो ।

पहिलोपटक जिल्ला अदालतमा उपस्थित गराइँदा उनले वकिलसँग सल्लाह गर्नुपर्छ भन्दै बयान दिन मानेका थिएनन् । दोस्रो पटक अस्वस्थ भएको भन्दै उनले बयान दिएका थिएनन् । आइतबार तेस्रो पटक उनलाई जिल्ला अदालत रौतहटमा उपस्थित गराइएको छ । उनले यसपटक भने बयान दिने बताएको जिल्ला अदालत स्रोतले बतायो ।

त्यतिवेला घटनाका केही प्रत्यक्षदर्शीले समेत बम विस्फोटमा उनीहरू घाइते भएको र पछि इँटाभट्टाको आगोमा हालेर हत्या गरेको कागज गरिदिएका थिए । यसरी हत्या गरिएका ओसीका आमा रुखसाना खातुनको समेत पछि गोली हानेर हत्या भएको थियो । 

रौतहट क्षेत्र नं. २ बाट निर्वाचित सांसद् तथा पूर्व मन्त्री आलममाथि अनुसन्धानका लागि प्रहरीले थप समय मागेपछि जिल्ला अदालत, रौतहटका न्यायाधीशका चित्रबहादुर गुरुङ्गको इजलासले कात्तिक ३ गतेसम्म म्याद दिएको थियो। हत्या आरोपमा पक्राउ परेका आलम सांसद पदबाट निलम्बनमा परिसकेका छन् ।

प्रकाशित मिति: : 2019-10-20 12:14:37

प्रतिकृया दिनुहोस्