हामी एकादेशमा छौं, कथा पनि एकादेशबाटै सुरु गरौं ।
एकादेशमा एकजना प्रधानमन्त्री थिए । उनी आशुकवि पनि थिए । अंग्रेजी पररर बोल्थे । यति भएपछि उनलाई लाग्थ्यो म त सुपर । भाषा संस्कृति राजनीति अर्थनीति आदि इत्यादि सबैको ज्ञाता । भयङ्कर ठुलो मान्छे । अरु सबै सबै साना । जनता त फिस्टा । कमिला । ती अति नै साना । सानाले ठूलालाई सदासर्वदा विशेषसम्मानका शब्दले सम्बोधन गर्नुपर्छ । विविध वीरुदावली गाउनु पर्छ । चारणको भूमिका निर्वहन गर्नु पर्छ । जनता शासित हुन् । रैती हुन् । ताबेदार हुन् । तिनले हामी सत्तासीन ठुलाठालुहरुलाई तँ तिमी भन्ने होइन । तपाईं पनि होइन । हजूर, दयानिधान, करुणासागर, महामहिम, माननीय, सम्माननीय, मौसुफ, जस्ता महिमामण्डित शब्द, शब्दावली राखेर सम्बोधन गर्नुपर्छ ।
कथा न हो । सुन्दा सपनाजस्तो लाग्छ । कहालीलाग्दो सपना !