अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले क्रिकेट खेलमा सुपर ओभरको नियम परिवर्तन गरेको छ । दुबईमा सोमबार अबेर सम्पन्न आईसीसी कार्यसमित बोर्ड बैठकले सुपर ओभरको नियममा परिवर्तन गर्ने निर्णय गरेको हो ।
बैठकले सेमिफाइनल र फाइनल खेलका लागि सुपर ओभरको नयाँ नियम बनाएको छ । नयाँ नियम अनुसार सुपर ओभरको खेल पनि बराबर भएमा फेरि अर्को सुपर ओभर खेलाइनेछ । सुपर ओभरमा दुई मध्ये जुन टोलीले बढी रन बनाउँछ उही टोली विजयी हुनेछ ।
यसअघि सुपर ओभरमा बराबरी भए सर्वाधिक बाउन्ड्रीका आधारमा विजेता टोलीको चयन गरिने नियम थियो ।
इङ्ल्यान्डमा यसैबर्ष सम्पन्न आईसीसी एकदिवसीय विश्वकपमा सर्वाधिक बाउन्ड्रीका आधारमै आयोजक इङ्ल्यान्डले न्युजिल्यान्डलाई हराएर विश्वकप उपाधि जितेको थियो । विश्वकपपछि आईसीसीको उक्त नियमको सन्सारभर आलोचना भएको थियो ।
पहिले ब्याटिगमा उत्रेको न्युजिल्यान्डले निर्धारित ५० ओभरको खेलमा २४२ रनको टार्गेट दिएको थियो । तर इङ्गल्याण्डले निर्धारित ५० ओवरमा २४१ रन बटुलेर खेल सुपर ओभरमा गएको थियो । सुपर ओभरमा पनि दुवै देशले १५–१५ रन बनाए पछि खेल टाई भयो । अन्तमा इंग्ल्याण्डले बाउन्ड्री संख्याका आधारमा विश्वकप क्रिकेटको उपाधि हात पार्यो । इंग्ल्याण्डले न्युजिल्यान्डले भन्दा ६ वटा बाउन्ड्री बढी हानेको थियो।