पूर्वप्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको निधन भएको छ। ८२ वर्षीय उपाध्यायको काठमाडौंस्थित निवासमा शुक्रबार राति ८ बजे निधन भएको परिवार स्रोतले जानकारी दिएको छ ।
उच्च रक्तचाप र मधुमेहबाट पीडित उपाध्याय चिकित्सकको नियमित सुपरीवेक्षणमा थिए।१९९४ मंसिर २० गते सिरहामा जन्मिएका उपाध्यायले करिब ३८ वर्ष न्यायासेवामा बिताए। २०५६ पुष २ गते प्रधानन्यायाधीश नियुक्त उपाध्यायले २०५९ मंसिर १९ गते अवकाश पाएका थिए।
उपाध्यायका संसद् पुनर्स्थापना, मानवअधिकार, महिला अधिकार तथा वातावरण सम्बन्धी फैसलाहरू महत्त्वपूर्ण छन्।
तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले संसद् विघटन गरेपछि परेको रिटमा प्रधान न्यायाधीश विश्वनाथ उपाध्यायसहित ११ जना न्यायाधीश रहेको विशेष इजलासले संसद् पुनर्स्थापनाका पक्षमा फैसला गरेको थियो।
उपाध्याय नारायणहिटी दरबार हत्याकाण्डको उच्चस्तरीय छानबिन आयोगका अध्यक्ष पनि बनेका थिए। प्रमुख प्रतिपक्षी दलका तत्कालीन नेता माधवकुमार नेपालले उक्त आयोगमा बस्न अस्वीकार गरेका थिए। आयोगका अध्यक्ष उपाध्याय र तत्कालीन सभामुख तारानाथ रानाभाटले दरबार हत्याकाण्डको छानबिन प्रतिवेदन तत्कालीन राजा ज्ञानेन्द्रलाई बुझाएका थिए।
परिवारिक स्रोतले दिएको जानकारी अनुसार उहाको आजै ११ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गर्ने जानकारी दिएको छ ।उनका श्रीमती, दुई छोरा र एक छोरी छन्।