साफ यू १८ च्याम्पियनसिप: भारत र बंगलादेश भिड्ने

बिएल

साफ यू १८ च्याम्पियनसिपका उपाधिका लागि भारत र बंगलादेश भिड्ने भएका छन् ।

शुक्रबार भारतले खेलको सातौं मिनेटमा अग्रता लिएको थियो । लामो थ्रोमा आएको पासलाई नरेन्द्र गहलटले फ्लिक हेडरमार्फत गोलमा परिणत गरेका थिए । पहिलो हाफको इन्ज्युरी समयमा कर्नरमा आएको बल माल्दिभ्सको डिफेन्डरलाई लाग्दै गोलमा परिणत भएपछि भारतले अग्रता दोब्बर पारेको थियो ।

खेलको ७९ औं मिनेटमा भारतले ३–० को अग्रता लियो । कर्नरमा आएको बललाई माल्दिभ्सका गोलरक्षक हसन अलीफले फुस्काएपछि मनवीर सिंहले सहजै गोल गरे । त्यसको ३ मिनेटमै भारतले अग्रता बढायो । मीतेइ निन्थोइङबाले कर्नरमा आएको रिबाउन्डलाई पेनाल्टी क्षेत्रबाहिरबाट शक्तिशाली भलीमा गोल गरेका थिए ।

त्यसअघि पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई ४–० ले नै पराजित गरेको थियो । आइतबार भुटान र माल्दिभ्सले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्दा भारत र बंगलादेशबीच उपाधिका लागि भिडन्त हुनेछ ।

प्रकाशित मिति: : 2019-09-27 17:20:01

प्रतिकृया दिनुहोस्