काठमाडौं– शुक्रबार दिउँसो ४ बजे। राष्ट्रिय ट्रमा सेन्टरको पाँचौ तल्ला। आइसियू वार्डको बेड नं ५२६ मा ३ महिनादेखि उपचाररत छन्, झापाका ओमनाथ ढकाल।
'बाबा एता हेर्नुस् न, एता हेर्नुस् त बाबा,' ओमनाथकी श्रीमती उमा ढकाल भन्दै थिइन्। ओमनाथले दुवै आँखा खोले र टुलुटुलु हेरिरहे। 'भनेको कुरा सुन्नुहुन्छ। अनि रेस्पोन्स पनि गर्न थाल्नुभएको छ,' उमाले उनको स्वास्थ्य प्रतिबारे सुनाइन्।
दक्षिण कोरियाको बुसान युनिभर्सिटी अस्पतालको कोमामा ७ महिना उपचारपछि नेपाल झिकाइएका ओमनाथ सुरुको अवस्थामा बिना हलचल सुकेको काठजस्तै ढलिरहन्थे। कहिलेकाँही आँखा हेरे पनि कुनै प्रतिक्रिया देखाउँदैन थिए। ‘हातले देखाउनुस् त बाबा। कहाँ दुखेको छ भन्नुस् त। दुखेको छ हो, गाह्रो भएको छ?’ उमाले ओमनाथलाई प्रश्न सोधिरहेकी थिइन्। ओमनाथ टुलुटुलु हेरिरहेका मात्रै थिए। शरीरभरि जेलिएका उपकरणका तारहरु तेब्रे हातले तान्ने प्रयास गरिरहेका थिए। 'तार त उहाँले तानेर मिल्काउनुहुन्छ, दाइने हात त पूरै चल्छ नि,’ उमा मुस्काइन्।