नेपालका पर्यटनमन्त्री योगेशकुमार भट्टराई अन्तर्राष्ट्रिय नागरिक उड्ड्ययन संघ (इकाओ)को ४०औं महासभामा सहभागी हुन आज अपरान्ह क्यानडाको मन्ट्रियल आइपुग्दैछन् । इकाओको ४०औं महासभा सेप्टेम्बर २४ देखि अक्टोबर ४ सम्म यसको केन्द्रीय कार्यालय रहेकै सहर मन्ट्रियलमा आयोजना हुदैछ ।
हरेक तीन वर्षमा आयोजना हुने महासभामा यसपटक १९२ देशको सहभागिता हुनेछ ।
नेपालले यस महासभामा युरोपेली आकाशमा नेपाली हवाइजहाजलाई लगाइएको प्रतिवन्धमाथि कुरा उठाउने बताइएको छ । नेपाली प्रतिनिधिमण्डलका नेता भट्टराईले युरोपियन युनियनले लगाएको प्रतिवन्ध प्राकृतिक न्यायको सिद्धान्तमा आधारित नभएको बताउँदै आएका छन् ।
मन्त्री भट्टराईले महासभामा नेपालले सन् २०२० मा मनाउन लागेको नेपाल भ्रमण वर्षको ध्यानाकर्षण गराउदै त्यसको सफलताका लागि पनि हवाई प्रतिवन्ध हटाउन माग गर्ने जनाइएकोछ ।
सेप्टेम्बर २९ मा मन्ट्रियलबाट नेपाल फर्कनुअघि मन्त्री भट्टराईले बाक्लेो नेपाली डायस्पोरा रहेका टोरन्टोको पनि भ्रमण गर्ने कार्यक्रम रहेको छ । उनले त्यहाँ नेपाली संघ संस्थाले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्ने बताइएको छ ।