साफ यू–१८ च्याम्पियनसिप अन्तर्गत साविकको उपविजेता बंगलादेश समूह बी बाट सेमिफाइनल गर्ने पहिलो टोली बनेको छ ।
सोमबार हल्चोकस्थित एपीएफ मैदानमा भएको खेलमा उपाधिको बलियो दावेदार भारतलाई गोलरहित बराबरीमा रोक्दै बंगलादेशले अन्तिम ४ मा स्थान पक्का गरेको हो ।
यस नतिजासँगै बंगलादेशले २ खेलमा ४ अंक जोड्दै समूहको शीर्षस्थानमा स्थान बनाएको छ । भारत १ अंकसहित दोस्रो र श्रीलंका तेस्रो स्थानमा छ । भारतले अब यस समूहको अन्तिम खेलमा बुधबार श्रीलंकाको सामना गर्नेछ । भारतलाई अब समूह विजेता बन्न कम्तिमा ३ गोलको जित आवश्यक छ ।
प्रतियोगिताकै अर्को समूहमा भने नेपाल समूह चरणबाटै बाहिरिने संघारमा छ । उद्घाटन खेलमा माल्दिभ्ससँग १–१ को बराबरीमा रोकिएको नेपाल दोस्रो खेलमा भुटानसँग ३–० ले पराजित भएको थियो । मंगलबार हुने खेलमा भुटान र माल्दिभ्स भिड्नेछन् । माल्दिभ्सलाई सेमिफाइनल पुग्न बराबरी पर्याप्त छ भने भुटान अन्तिम चारमा प्रवेश गरिसकेको छ । भुटानले ३ वा सोभन्दा बढी गोलले माल्दिभ्सलाई पराजित गरे नेपालको पनि सम्भावना रहनेछ ।