बुटवल- चालु आर्थिक वर्षको भदौ २७ मा बुटवल-पाल्पा सडकखण्डको सिद्धबाबा नजिकै ढुंगासहितको पहिरोमा २ वटा गाडी पुरिए। उक्त दुर्घटनामा १ जनाको मृत्यु भयो भने ४ घाइते भए। बुटवल-पाल्पा सडकखण्डको सिद्धबाबा हुँदै ठूलासाना गरी दैनिक २ हजारको हाराहारीमा सवारीसाधन आवतजावत गर्ने गर्दछन्। यस खण्डमा ७ वर्षको अवधिमा भएका ३८ दुर्घटनामा ३१ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका अनुसार यो सडकखण्डको करीब ५ किलोमिटर दूरीमा पहिरो र ढुङ्गाले च्यापेर वर्षेनी औषतमा ३ देखि ४ जनाले ज्यान गुमाउने गर्दछन्। आर्थिक वर्ष २०७०/०७१ मा ११ जना, २०७१/०७२ मा ५ जना, २०७२/०७३ मा ४ जना, २०७३/०७४ मा २ जना, २०७४/०७५ मा ४ जना र २०७५/०७६ मा ३ जनाको मृत्यु भएको प्रहरीको तथ्यांकमा उल्लेख छ।