मोदीको सपथ ग्रहणमा सार्क राष्ट्रको सट्टा बिम्सटेकलाई महत्व, पाकिस्तानलाई निम्तो छैन

Agency

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालको सपथग्रहण कार्यक्रममा पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई निम्तो नपठाएको भारतीय अखबारहरूले पुष्टी गरेका छन्। 

भारत स्वशाषित राज्य कश्मिरको पुलवामामा ६ महिनाअघि भएको आतंकवादी घटनामा पाकिस्तानको हात भएको भन्दै दुई देशबीच सम्बन्ध चिसिएको छ। पुलवामा घटनामा ४० भारतीय सुरक्षाकर्मीको हत्या भएको थियो।

भारतको १७ औं लोकसभा निर्वाचनअगाडि पनि कश्मिरमा अर्को आतंकवादी हमला भएको थियो। यसमा पनि पाकिस्तानको हात भएको भारतको दावी छ।

सन् २०१४ मा मोदी पहिलो कार्यकालका लागि प्रधानमन्त्री चुनिदा तत्कालिन पाकिस्तानी प्रधानमन्त्री नवाव सरिफलाई निम्तो गरिएको थियो।

प्रधानमन्त्री मोदी विदेश भ्रमणमा भएको बेला सरिफलाई भेट्न एक्कासी पाकिस्तान पनि पुगेका थिए। इमरान यसै वर्ष पाकिस्तानको प्रधानमन्त्री नियुक्त भएका थिए। प्रधानमन्त्री नियुक्त भएपछि इमरानको भारतीय समकक्षीसँग एकपल्ट पनि भेट भएको छैन्।

यद्यपी इमरानले मोदी प्रचण्ड बहुमतसहित दोस्रो कार्यकालका लागि प्रधानमन्त्री छानिएपछि क्षेत्रीय शान्ती र सद्भावका लागि भारतसँग मिलेर काम गर्न आफू तयार भएको बताउँदै आएका छन्। तर भारतले पाकिस्तानबाट हुने आतंकवादी हमला नरोकिएसम्म दोहोरो वार्ता नहुने स्पष्ट पारिसकेको छ।

मोदीले ३० मेमा दोस्रो कार्यकालका लागि सपथ लिँदैछन्। पाकिस्तानकै कारण भारतले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को स्थानमा २०१६ देखि बिम्सटेकलाई महत्व दिँदै आइरहेको छ।

यसपालि प्रधानमन्त्रीको सपथमा पनि भारतले सार्क राष्ट्रभन्दा बिम्सटेकमा आवद्ध राष्ट्र नेपाल, भुटान, बंगलादेश, श्रीलंका, थाइल्यान्ड र बर्मालाई निमन्त्रणा पठाएको छ।
निमन्त्रणामा यी राष्ट्रबाहेक मोरिसस र कीर्गिस्तानका राष्ट्राध्यक्षलाई पनि निम्तो दिएको अखबारले जनाएका छन्। विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले पनि यसको पुष्टी गरिसकेका छन्। ‘सरकारले सपथ ग्रहण कार्यक्रममा बिम्सटेक सदस्य राष्ट्रलगायत कीर्गिस्तानका राष्ट्रपति सोरोनवाय जेनेवकोव र मोरिससका प्रधानमन्त्री प्राविन्द जगन्नाथलाई निमन्त्रणा पठाएको छ,’ रविशले जानकारी दिए।

प्रकाशित मिति: : 2019-05-28 08:05:00

प्रतिकृया दिनुहोस्