नेत्र विक्रम चन्द बिप्लव माओवादीले सोमबार घोषणा गरेको नेपाल बन्दका क्रममा सरकारले १२ जना नेता कार्यकर्तालाई पक्राउ गरेको छ।
सोमबार दिउँसो साढे १२ बजेसम्म देशभरीका विभिन्न स्थानबाट प्रहरीले १२ जनालाई नियन्त्रणमा लिनुका साथै बम तथा शंकास्पद बस्तुसमेत फेला पारेको छ।
विभिन्न स्थानमा राखिएका शंकास्पद बस्तु र बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विश्वराज पोखरेलका अनुसार विप्लव माओवादीले२३ स्थानमा राखेका शंकास्पद बस्तु प्रहरीले फेला पारेको हो।
पोखरेलका अनुसार धादङ, तनहु, मारेङ, स्याङ्जा, दार्चुला, कास्की, काठमाडौं, बैतडी, सुनसरी, भक्तपुर, रौतहट, मकवानपुर, अर्घाखाँची, महोत्तरी र सिन्धुली लगायतका जिल्लाका विभिन्न स्थानमा शंकास्पद बस्तु फेला परेका छन्।
मुलुकभरमा विभिन्न जिल्लामा फेला परेका शंकास्पद बस्तु र विस्फोटक पदार्थलाई नेपाली सेनाले प्रहरीको सहयोगमा डिस्पोज गरेको छ।
पाँच स्थानमा तोडफोड
नेपाल बन्दको अवज्ञा गरेको भन्दै नेत्र विक्रम चन्द विप्लव माओवादीले विभिन्न जिल्लामा चलेका सवारी साधनमाथि तोडफोड गरेका छन् ।
विप्लव कार्यकर्ताले रामेछापको मन्थली नगरपालिका हात्तिटारमा सेलेघाटबाट मन्थलीतर्फ आउँदै गरेको ना ८ ख ३७७० नम्बरको इट्टा बोकेको टिपरलाई तोडफोड गरेका छन्।
त्यसैगरी बन्दको अवज्ञा गरेको भन्दै मकवानपुरको भिमफेदीमा ना ७ ख ९४९३ नम्बरको मालबहाक ट्कमा आगजनी गरेका छन्।
सुर्खेतको भेरीगंगा गाँउपालिका ८ गोछेखोलामा ना २ ख ७४४४ नम्बरको यात्रुबहाक बसमा आगजनी गरेका छन्। ४/५ जना हतियारधारी समूहले आइतबार बिहान बसमा पेट्रोल छर्किएर आगो लगाएको प्रहरीले जानकारी दिएको छ।
त्यसैगरी नवलपसारीको कावासोतीमा एक जिपमाथि आगजानी गरेको छ । मकवानपुरको थाहा नगरपालिका १ कुल गाँउमा पनि एक जिपमाथि आगजनी गरिएको छ।
बिप्लवका १२ नेता कार्यकर्ता पक्राउ
प्रहरीले काठमाडौं उपत्यकाबाट बिप्लव माओवादीका १२ जना नेता कार्यकर्तालाई पक्राउ गरेको छ।
आईतबार साँझ काठमाडौंको सुकेधारा र अनामनगरमा ४ जनाको ज्यान जानेगरी भएको विस्फोटपछि प्रहरीले १२ जना नेता कार्यकर्तालाई विभिन्न स्थानबाट पक्राउ गरेको हो।
प्रहरीले आईतबार साँझ काठमाडौंको नरेफाँटबाट बुद्धिबहादुर सुनारसहित ७ जनालाई पक्राउ गरेको थियो।
त्यसैगरी प्रहरीले सोही पार्टीका चन्द्र बोहोरा, विक्रम तामाङ, अनिल राना मगर, कृष्ण आले मगर र राज थापा मगरलाई ललितपुरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
देशभर सुरक्षा हाइ अलर्ट
विप्लव माओबादीको नेपाल बन्द र उसका हिंशात्कम गतिविधिलाई ध्यानमा राखि देशैभरको सुरक्षा ब्यवस्थालाई मजबुद पारेको छ।
देशैभरको सुरक्षा ब्यवस्थालाई मदबुद पारिएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी विश्वराज पोखरेलले जानकारी दिए।
बीएल नेपालीसँग कुरा गर्दै डीआईजी पोखरेलले भने, ‘सुरक्षा ब्यवस्था मजबुद छ, नेपाल बन्दको कुनै प्रभाव छैन,’ उनले भने, ‘भ्याली बाहिरका सडकमा आवश्यक परेमा स्कर्टिङ गरेरै भए पनि सवारी साधन चलाउने ब्यवस्था गरेका छौं।’