भारतको उत्तर प्रदेशको अमेठीमा हत्या गरिएका बीजेपी कार्यकर्ता सुरेन्द्र सिंहको अन्त्येष्टी गरिएको छ। अन्तेष्टीमा सहभागी हुने पुगेकी केन्द्रीय मन्त्री तथा त्यो क्षेत्रकी नवनिर्वाचित सांसद स्मृति इरानीले सिंहको पार्थिव शरीर आफै बोकिन् । उनले सिंहको परिवारलाई भेट्दै दोषीलाई हदैसम्मको कारबाही हुने आश्वासन दिइन्। उनले हत्यारा र हत्या गर्न लगाउने दुबैलाई फासीको सजायको माग गर्दै पीडित परिवारलाई न्याय दिलाउन कुनै कसर बाँकि नराख्ने बताइन्।
हत्यापछि हिंसात्मक प्रदर्शनमा उत्रेको अमेठीका जनतालाई सम्बोधन गर्दै भनिन्- म तपाईहरूको पीडा र हत्याराप्रतिको आक्रोशको अनुमान लगाउन सक्छु। म पनि तपाईहरूसँगै छु। तर, यतिबेला जोशले भन्दा पनि होशले काम गर्नुपर्छ। त्यसैले म सबैलाई संयम हुन अनुरोध गर्दछु।'
मृतक सिंहका छोरा अभय सिंहले विपक्षी पार्टीका कार्यकताले आफ्ना बुवाको हत्या गरेको आरोप लगाए। उनले भने- 'यसमा राहुल गान्धीकै हात छ। उनकै आदेशमा मेरो पिताजीको हत्या गरिएको हो।'
शनिबार अमेठीको बरौलिया गाउँका पूर्व प्रधान सुरेन्द्र सिंहको गोली हानी हत्या भएको थियो। हत्या कांग्रेस अध्यक्ष राहुल गान्धीको हारको बदला लिन गरिएको बताइएको छ।