सिक्किममा विधायक नै नभएका गोले मुख्यमन्त्री हुदै, चाम्लिङको बहिस्कार

सिक्किम क्रान्तिकारी मोर्चाका अध्यक्ष प्रेम सिंह तामाङ गोले । तस्बिर: एजेन्सी

नेपालीभाषी बहुल भारतको सिक्किममा सत्ता परिवर्तनसँगै राजनीतिक खिचातानीको सम्भावना पनि बढेको छ।सिक्किम क्रान्तिकारी मोर्चाले भ्रष्टाचारको मुद्दामा एक वर्ष जेल बसेर निस्केका र विधायक पनि नरहेका पीएस गोलेलाई मुख्यमन्त्री बनाउने भएपछि विपक्षी सिक्किम डेमोक्रेटिक फ्रन्टले सपथ ग्रहण समारोह नै बहिस्कार गर्ने घोषणा गरेको छ।

यो घोषणासँगै २५ वर्ष सत्तामा बसेर निस्केको पवन चाम्लिङको सिक्किम डेमोक्रेटिक फ्रन्ट र पहिलो पटक सत्ता सम्हाल्न लागेको प्रेम सिंह गोलेको सिक्किम क्रान्तिकारी मोर्चा आम्नेसाम्ने हुन लागेका छन्।

सिक्किम क्रान्तिकारी मोर्चाका अध्यक्ष गोेले भ्रष्टाचारको मुद्दामा एक वर्षको जेल सजाय पाएकाले कानुनी अड़चनका कारण चुनाव नै लड्न पाएका थिएनन्। ३२ सदस्यीय विधान सभामा १७ स्थान हासिल गरेको गोलेको दलले उनलाई नै विधायक दलको नेता छान्यो र मुख्यमन्त्रीको दाबी गर्दै राज्यपालसमक्ष सपथ ग्रहणका लागि आवेदन दियो। 

भ्रष्टाचारको मुद्दामा जेल परिसकेको र विधायक पनि नरहेको मान्छे मुख्यमन्त्री नहोला भन्ने सिक्किम डेमोक्रेटिक फ्रन्टलाई लागेको थियो। तर, राज्यपाल गंगा प्रसादले मुख्यमन्त्रीको सपथ ग्रहण गराउने बताए।राज्यपालको यो निर्णयबाट भड्केको सिक्किम डेमोक्रेटिक फ्रन्टले गान्तोकको पाल्जर रंगशालामा सोमबार विहान १० बजेदेखि हुने भनिएको गोलेको सपथग्रहण समारोह नै बहिस्कार गर्ने निर्णय गर्यो । 

अब के होला गोलेको भविष्य ?

भ्रष्टाचारको मुद्दामा एक वर्षको जेल सजाय पाएका गोले विधायक उठ्न पाउँछन् कि पाउँदैनन् ? यो प्रश्नकै छिनोफानो हुन बाँकि छ । तर, सामान्य अवस्थामा भारतमा विधायक नभएको व्यक्ति पनि मुख्यमन्त्रीको सपथ लिन सक्छन् तर उसले ६ महिनाभित्र विधायकमा निर्वाचित हुनपर्नेछ।

सिक्किमा यसपटक तीनजना नेता दुई दुई स्थानबाट चुनावमा विजयी भएका छन्। विजयी हुनेमा एसकेएमका कुङ्गा निमा लेप्चा र एसडीएफका पवन चाम्लिङ र डीटी लेप्चा रहेका छन्।उनीहरूले जितेका दुईसिटमध्ये एउटाबाट राजिनामा दिएपछि त्यहाँ आगामी ६ महिनाभित्र उपनिर्वाचन हुने छ। गोले त्यही सिटमा वा अन्य कुनै विधायकलाई राजिनामा गराएर त्यो सिटबाट उम्मेदवार बन्नुपर्ने हुन्छ। एसकेएफका कुङ्गा निमा लेप्चाले भोटिया–लेप्चा समुदायका लागि आरक्षित सिटबाट जितेकाले त्यहाँ उनी उम्मेद्वार हुन सक्ने छैनन्। 

यस्तो अवस्थामा उनले चाम्लिङले छोड्न सक्ने पोकलोक–कामराङ क्षेत्रबाट प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ। चाम्लिङको गढ मानिएको त्यो क्षेत्रबाट उनलाई जित्न सजिलो हुदैन। त्यसपछि के हुन्छ? सिक्किममा यसै भन्न सकिने स्थिति हुदैन। 

सरकारमा रहिरहनका लागि पनि गोलेले उनको पार्टीका विधायक कुङ्गा निमा लेप्चाले जितेको सिट त अनिवार्य जित्नैपर्छ।यदि त्यो सिट गुम्यो र एसडीएफका उम्मेद्वारले जितेका दुबै क्षेत्रमा पनि जित हासिल नभएर सिक्किमको विधानसभामा दुबै दलको १६-१६ स्थान हुन्छ, कसैको पनि बहुमत हुदैन। 

प्रकाशित मिति: : 2019-05-27 03:51:04

प्रतिकृया दिनुहोस्