प्रधानमन्त्री ओली स्वदेश फिर्ता, ४० मिनेट अन्तर्राष्ट्रिय विमानस्थल बन्द

तस्बिरः बिएल

प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको एक साताको औपचारिक भ्रमण पूरा गरी बुधबार स्वदेश फर्किएका छन्।

समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुकको निमन्त्रणामा गत वैशाख २६ देखि ३० वैशाखसम्म भियतनाम र त्यसपछि कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा कम्बोडिया भ्रमण सकेर आज साँझ उनी स्वदेश फर्किएका हुन्।

सो अवसरमा नेपाली सेनाको एक टुकडीले प्रधानमन्त्री ओलीलाई सलामी अर्पण गरेको थियो। उनका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायतका प्रतिनिधिमण्डलका सदस्य पनि आजै स्वदेश फर्किएका छन्।

प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ र उच्चपदस्थ कर्मचारीले स्वागत गरेका थिए।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीको उडानका कारण त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द भएको थियो।

विमानस्थल स्रोतका अनुसार प्रधानमन्त्री ओलीको जहाज अवतरण भन्दा १५ मिनेट अघि र अवतरणको १५ मिनेट पछिसम्म सबै उडान तथा अवतरण बन्द गरिएको थियो।

त्रिभुवन अन्तर्रांष्ट्रिय विमानस्थल कार्यालयले प्रकाशित गरेको नोटाम (नोटिस टु एयरम्यान) अनुसार अहिले साँझ ६:५० देखि ७:३० सम्म विमानस्थलमा अन्य उडान तथा अवतरण ठप्प थियो।

ओली फिर्ति समयको बेला अन्तर्राष्ट्रिय तर्फका आधा दर्जन उडान अवरूद्ध भएका थिए।

राति १० बजे विमानस्थल बन्द गर्नैपर्ने बाध्यता कारणले केही उडान रद्धसमेत भएको विमानस्थल कार्यालयका अधिकारीहरुले बताएका छन्।

प्रकाशित मिति: : 2019-05-15 20:15:40

प्रतिकृया दिनुहोस्