काभ्रे गोली काण्डबाट बम विस्फोट गराउने विप्लवका चार कार्यकर्ता पक्राउ

तस्बिरः गुगल म्याप

काभ्रेमा भएको प्रहरी र विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताबीचको मुठभेडबाट प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

काभ्रेको रोशी गाउँपालिका-१, काफल डाँडामा प्रहरी र विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताबीच मंगलबार राति मुठभेड भएको प्रहरीले दाबी गरेको छ।

समूहसँग गोली हानाहान भएपछि प्रहरीले गरेको सर्च अभियानको क्रममा चार जनालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार केही समयअघि उपत्यकाको विभिन्न स्थानमा एक जना सर्वसाधारणको ज्यानसमेत जाने गरी भएका बिस्फोटको घटनामा संलग्न चार जना पक्राउ परेका हुन्।

महाशाखाका एसपी केदार ढकालका अनुसार पक्राउ पर्नेहरुमा बिशाल तामाङ, शिव धिमाल, देकेन्द्र राई र भुमबहादुर बिक छन्।

अनुशन्धानको क्रममा प्राप्त सूचनालाई पछ्याउँदै काभ्रे पुगेको महानगरीय प्रहरी अपराध महाशाखाको टोली र नेकपा कार्यकर्ताबीच गोली हानाहान भएको थियो।

महानगरीय अपराध अनुसन्धान महाशाखा महाशाखाका प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौर नेतृत्वको प्रहरी टोली काभ्रेमा थियो।

उनीहरुलाई फलो गर्ने क्रममा प्रहरीमाथि गोली चलाएपछि दोहोरो फायरिङ भएको प्रहरीले दाबी गरेको छ।

यसैबीच काभ्रे घटनाबारे विप्लव समूहबाट भने अहिलेसम्म कुनै धारणा बाहिर आएको छैन ।

यसअघि २८ फागुनमा बसेको मन्त्रिपरिषदको बैठकले विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो । त्यसयता नेपाल प्रहरीले विप्लव समूहका नेता कार्यकर्तालाई जहाँ भेट्यो, त्यहीँ पक्राउ गर्ने नीति लिएको छ ।

प्रकाशित मिति: : 2019-03-20 09:17:39

प्रतिकृया दिनुहोस्