इरानको सरकार विरोधी प्रदर्शनः २०८ जनाको मृत्यु, ७ हजार पक्राउ

तस्बिर:एजेन्सी

इरानमा पछिल्लो समय भइरहेको सरकार विरोधी प्रदर्शनका क्रममा अहिलेसम्म २०८ जनाको मृत्यु भएको छ भने ७ हजार जना प्रदर्शनकारी पक्राउ परेका छन्।

संयुक्त राष्ट्रसंघले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार पक्राउ परेकामध्ये अधिकांश केही समयमै रिहा पनि भएका थिए।प्रदर्शनका क्रममा अहिलेसम्म २०८ जनाको मृत्यु भएको एम्नेष्टी इन्टरनेश्नलले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ।

राष्ट्रसंघको मानवीय सहायतासम्बन्धी कार्यालयले जारी गरेको वक्तव्यमा आधिकारीक तथा घटनालाई पुष्टि गरेका भिडियोमा प्रदर्शनकारीलाई सुरक्षाकर्मीले पिट्ने, लखेट्ने, गोली प्रहार गर्ने, हत्याको प्रयास गर्नेजस्ता कृयाकलाप भएको देखिएको छ।

भिडियोमा सुरक्षाकर्मीहरु धेरै ठाउँमा प्रदर्शनकारीविरुद्ध जाइलागेको देखिएको मानवअधिकारसम्वन्धी राष्ट्रसंघीय उच्च आयुक्त मिचेल बाचेलेटले बताए।

प्रदर्शनकारीहरु भागेर टाढा टाढा जादाँ पनि सुरक्षाकर्मीहरुले पछाडिबाट गोली प्रहार गरेको देखिएको उनको भनाइ छ। पेट्रोलको मूल्य वृद्धिको विरोधमा इरानमा प्रदर्शन हुँदै आएको छ। पेट्रोलमा धनी मानिने इरानले हालै सोही इन्धनमा २ सय प्रतिशतले मूल्य वृद्धि गरेको थियो।

इरानी राष्ट्रपति हसन रौहानीले इरानका बहुसङ्ख्यक जनता आर्थिक दबाबमा रहेको जनाउँदै पेट्रोलियम पदार्थको मूल्यवृद्धिबाट सङ्कलन हुने रकम जनतालाई नै वितरण गरिने जानकारी दिएका छन्।

इरान सरकारले गतवर्षको डिसेम्बरमा नै पेट्रोलमा मूल्यवृद्धि गर्ने जनाएको थियो। तर पनि यस निर्णयको यहाँका सर्वसाधारणले विरोध गरेका कारण संसद्ले उक्त प्रस्तावलाई अस्वीकृत गरेको थियो।

प्रकाशित मिति: : 2019-12-07 09:01:16

प्रतिकृया दिनुहोस्