भारतमा 'बलात्कारी-हत्यारा' को इन्काउन्टर, देशैभर प्रहरीको जयजयकार

भारतमा 'बलात्कारी' माथि फासीको माग गर्दै प्रदर्शन । तस्बिर : एएफपी

भारतमा एक पशुचिकित्सकको सामुहिक बलात्कार गरी हत्या गर्ने चार संदिग्ध हत्याराको इन्काउन्टर गरिएको छ । मारिनेमा मोहम्मद आरिफ, जोलू शिवा, जोलू नवीन र चिन्ताकुन्टा चेन्ना केशवुलु रहेका छन्। रक्सी खाँदै सातघण्टासम्म बलात्कार गर्ने चारैजना ट्रक ड्राइभर भएको बताइएको छ।

भारतको सडकदेखि संसदसम्म उनीहरूलाई फाँसी दिनुपर्ने आवाज उठिरहेको बेला सरकार उनीहरूको इन्काउन्टर गर्न दवावमा आएको थियो।

बुधबार नियन्त्रणमा लिइएका उनीहरूको शुक्रवार बिहान तीन बजेतिर "भिडन्त"मा मृत्यु भएको प्रहरीले जनाएको छ।

पीडित महिलाको शव भेटिएको महबुब नगरको चटनपल्ल गाउँमा लगेर अनुसन्धान गर्ने क्रममा प्रहरीको बन्दुक खोसेर आक्रमण गर्न खोज्दा प्रतिकारमा उनीहरूको मृत्यु भएको जनाइएको छ ।

पीडित पशुचिकित्सकका आमाबाबुले इन्काउन्टरमा बलात्कारी चारैजना मारिएको सुनेपछि भने, 'अन्तत: हाम्री छोरीले न्याय पाईं । हैदराबाद प्रहरीलाई धन्यवाद।'

संदिग्ध व्यक्तिहरूको मृत्यु भएको हैदराबादका प्रहरी प्रमुख भीसी सज्जनारले पुष्टि गरेका छन् । 

नोभेम्बर २८ को साँझ स्थानीय समयानुसार ६ बजेतिर निस्केकी २७ वर्षीय पशु चिकित्सकको बाटामा सामुहिक बलात्कार गरी हत्या गरिएको थियो । उनको जलेको शवको हिस्सा नोभेम्बर २९ को बिहीवार सडकको 'फ्लाईओभर' मुनि एक दूध व्यापारीले भेटेका थिए।   

त्यसयता यस घटनालाई बेवास्ता गरेको भन्दै हैदराबाद प्रहरीको ठूलो आलोचना भएको थियो । केही प्रहरी अधिकारी निलम्बित समेत भएका थिए । त्यसपछि दबाबमा आएको प्रहरीले चारजना संदिग्ध वलात्कारीलाई पक्राउ गरेर अनुसन्धानलाई अगाडि बढाइरहेको थियो ।  

यसैबीच यो इन्काइन्टरलाई लिएर भारतका धेरै सहरमा दीपावली गर्दै खुशी मनाइएको छ । यसका लागि उनीहरूले हैदरावाद प्रहरीको जयजयकार गरेका छन् । तर, यही बीच मुम्बइका वकिलहरूले यसलाई फेक इन्काउन्टर भन्दै प्रहरीमाथि कारबाहीको माग गर्दै तेलंगाना उच्च अदालतमा उजुरी दिएका थिए। उजुरीमाथि सुनुवाइ गर्दै अदालतले तत्काल शवको दाहसंस्कार गर्न रोक लगाएको छ।

प्रकाशित मिति: : 2019-12-07 00:06:50

प्रतिकृया दिनुहोस्