अफगानिस्तानमा दुई दर्जन लडाकू मारिए

तस्बिरः एजेन्सी

विगत २४ घण्टाको अवधिमा अफगान सरकारी फौजको कारवाहीमा विद्रोही तालिबान समूहका २४ जना लडाकूको मृत्यु भएको अफगान सेनाले जनाएको छ।

सेनाले जारी गरेको विज्ञप्तिमा अफगानिस्तानको केही प्रान्तहरुमा गरिएको सैन्य कारवाहीका क्रममा ती लडाकूहरु मारिएका उल्लेख गरिएको छ।

सोमबार गरिएको यस सैन्य कारवाहीका क्रममा अरु थुप्रै तालिबान लडाकू घाइते भएका सेनाले दाबी गरेको छ। अफगानिस्तानको लोगाड, कुन्दुज र हेलमाण्ड प्रान्तमा सो सैन्य कारबाही गरिएको प्रान्तीय सरकारका प्रवक्ता एस्तामुल्लाह मुराडीले बताएका छन्।

सरकारी भनाइको प्रतिवाद गर्दै तालिबानका प्रवक्ता जबिहुल्लाह मजाहिदले विगत २४ घण्टाको अवधिमा मुलुकभर दर्जनौं सुरक्षाकर्मी मारिएको दाबी गरेका छन्।

उता, पूर्वी नान्गरहर प्रान्तको अचिन जिल्लामा सुरक्षा फौज समक्ष ३१ जना इस्लामिक स्टेटका लडाकूहरुले आत्मसमर्पण गरेको प्रान्तीय सरकारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

अफगानिस्तानमा युद्धरत विभिन्न पक्षले सशस्त्र भिडन्तका क्रममा मृत्यु भएका व्यक्तिका सम्बन्धमा बढाइ चढाइ गर्ने गरेको स्वतन्त्र अनुगमनकर्ताहरुको भनाइ छ।(रासस)

प्रकाशित मिति: : 2019-12-03 16:04:09

प्रतिकृया दिनुहोस्