महाराष्ट्रको मुख्यमन्त्रीमा फडणवीस : सत्ताच्यूत भयो शिव सेना

महाराष्ट्र शिव सेना सत्ताच्यूत : मुख्यमन्त्री खोज्दा उपमुख्यमन्त्री र सत्ता नै गुम्यो । तस्बिर : एजेन्सी

महाराष्ट्रका काम चलाउ मुख्यमन्त्री देवेन्द्र फडणवीस रातारात पुनः मुख्यमन्त्री बनेका छन्।

शनिवार बिहान राजभवनमा फडणवीसले मुख्यमन्त्री र एनसिपीका नेता अजित पवारले उपमुख्यमन्त्रीको सपथ लिए।

यो समाचार सामाजिक सञ्जालमा ब्रेक भइरहदा मूलधारका सञ्चारमाध्यमले सुइँको समेत पाएका थिएनन्। राजनीतिक दलका नेता र सर्वसाधारण पनि छक्क परेका थिए।

यसअघि शुक्रवार बेलुकीसम्म पनि शिव सेना, एनसिपी र कांग्रेसको गठबन्धनबाट शिव सेना पक्ष प्रमुख उद्धव ठाकरे मुख्यमन्त्री बन्ने चर्चा चलिरहेको थियो।

तर, रातारात एनसीपीको सहयोगमा फडणविसले बहुमत पुर्याएपछि उनी पुन: मुख्यमन्त्री भए भने शिव सेना नराम्ररी जिल्लियो। यसबाट शिव सेनाले हुँदाखाँदाको उपमुख्यमन्त्रीसहितको सत्ता गुमाएको छ। 

भाजपासँग मिल्ने निर्णय एनसिपीको हैन। यो निर्णय अजित पावरको ब्यक्तिगत निर्णय हो।
-शरद पवार, एनसीपी सुप्रिमो 

भाजपासँग गठबन्धन गरेर चुनावमा उत्रेको शिव सेना भाजपाको भन्दा आधा सिटमा चुनाव जितेर पनि मुख्यमन्त्रीको अड्डीमा थियो। त्यसका लागि उसले भाजपाइतर सबै पक्षसँग सम्वाद गरेको थियो। तर, पनि उसलाई सबैको विश्वास जित्न हम्मे परिरहेको थियो। अन्तत: एनसीपी भाजपातिर लागेपछि शिवसेना नराम्री जिल्लिन पुग्यो। 

फडणवीस र पवारले महाराष्ट्र सरकारमा सपथ लिएपछि शनिवार विहान पत्रकार सम्मेलन गर्दै, शिव सेना नेता संजय राउतले महाराष्ट्र राज्यमा भाजपाले शक्तिको दुरुपयोग गरेको आरोप लगाएका छन्। उनले  अजित पावरले महाराष्ट्रका जनतालाई धोका दिएको बताउँदै महराष्ट्रमा अहिले जे भयो, त्यो राम्रो नभएको बताए।

प्रकाशित मिति: : 2019-11-23 10:34:37

प्रतिकृया दिनुहोस्