प्रधानमन्त्री खान र अमेरिकी राष्ट्रपति ट्रम्पबीच टेलिफोन वार्ता

तस्बिरः एजेन्सी

पाकिस्तानका प्रधानमन्त्री इमरान खान र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच बिहीबार राती टेलिफोन वार्ता भएको छ।

यस वार्तामा प्रधानमन्त्री खानले अफगानिस्तानका लागि अफगान शान्ति र मेलमिलाप प्रक्रियाको प्रगतिमा इस्लामाबादको प्रतिबद्धता पुनः व्यक्त गर्नु भएको छ।

पाकिस्तानको प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार ट्रम्पले पाकिस्तानलाई अमेरिकी र अष्ट्रेलियाका प्राध्यापक केभिन किङ् र तिमोथी वीकसलाई रिहागर्न सहयोग पु¥याएकोमा पाकिस्तानले गरेको प्रयासको लागि धन्यवाद दिएका छन्।

यी दुई प्राध्यापकलाई गत तीन वर्षयता तालिबान लडाकू समूहले अपहरण गरेका प्रधानमन्त्री कार्यालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ।

ती दुई प्राध्यापकलाई तालिबानले उक्त समूह र अफगान सरकारबीच भएको एक सम्झौताअनुसार रिहा गरेका थिए। सोही सम्झौताअनुसार सोमबार साँझ अनास हक्कानीसहित तीन आतङ्कवादीलाई बग्राम जेलबाट रिहा गरिएको थियो।

सन् २०१६ मा काबुलमा अवस्थित अमेरिकी विश्वविद्यालयबाहिर ती प्राध्यापकहरूलाई अपहरण गरिएको थियो, जहाँ दुवै प्राध्यापकले प्राध्यापन गर्ने गर्दथे। अफगानिस्तान सरकारले रिहा गरेका ती आतङ्ककारीहरू हक्कानी नेटवर्क समूहका प्रमुख सदस्य अनस हक्कानी तथा वरिष्ठ तालिबानी सदस्यहरू हाजी माली र अब्दुल रशीद हुन्।

यस बाहेक अन्य द्विपक्षीय र क्षेत्रीय मुद्दाहरुका विषयमा पनि नेताबीच छलफल भएको समाचारमा जनाइएको छ।

प्रकाशित मिति: : 2019-11-22 16:34:12

प्रतिकृया दिनुहोस्