श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिंघेले आज राजिनामा दिने

तस्बिरः एजेन्सी

श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिंघेले आज (बुधबार) राजिनामा दिने तयारी गरेका छन्।

राष्ट्रपतिका रुपमा गोटाबाया राजापाक्षे निर्वाचित भएपछि प्रधानमन्त्री विक्रमासिंघेले राजिनामा दिने तयारी गरेका हुन्।

नयाँ राष्ट्रपतिलाई आफ्नो अनुकुलको सरकार गठनका लागि मार्गप्रसस्त गरिदिन उनले राजिनामा दिन लाग्नु भएको श्रीलङ्काको दैनिक पत्रिका डेलि मिररले लेखेको छ।

राजिनामा दिने बारेमा विक्रमासिंघेले मङ्गलबार नै नवनिर्वाचित राष्ट्रपति राजापाक्षेसँग छलफल गरेका थिए। भेटवार्ताका क्रममा प्रधानमन्त्री विक्रमासिंघेले राष्ट्रपति राजापाक्षेलाई बधाइ तथा सफल कार्यकालको शुभकामना दिएको बताइएको छ।

स्थानीय समयानुसार बुधबार दिउसो ४ बजे बस्ने मन्त्रीपरिषद्को विषेश बैठकपछि उनले पद त्यागको घोषणा गर्ने श्रीलङ्का दैनिकले लेखेको छ।

विक्रमासिंघेले राजिनामा घोषणा गरेपछि राष्ट्रपति राजापाक्षेले सानो आकारको प्रारम्भिक नयाँ मन्त्री परिषद् गठन गर्ने जनाइएको छ।

सन् २०२० को मार्च १ पछि नयाँ संसद बन्ने भएकाले त्यतिबेलासम्म नै सानो मन्त्रीपरिषद् मात्रै रहने अनुमान गरिएको छ। स्रोतका अनुसार नयाँ मन्त्रीपरिषद् १५ सदस्यीय हुनेछ । नयाँ मन्त्रीहरु सवै राजापाक्षेत्रको पार्टीबाट हुने भएका छन्।

युनाइडेट नेस्नल पार्टी (युडीपी)का तर्फबाट राष्ट्रपतिका लागि उम्मेदवार बन्नु भएका सजिथ प्रेमादासलाई झण्डै १३ लाख मत अन्तरले पराजित गर्दै ७० वर्षीय राजापाक्षे राष्ट्रपति बनेका हुन्। पराजित भएका प्रेमादास भने ५३ बर्षको छन्।

नयाँ राष्ट्रपति चयनका लागि श्रीलङ्कामा गत शनिबार मतदान भएको थियो भने मत परिणाम आइतबार घोषणा गरिएको थियो।

आइतबार निर्वाचित राष्ट्रपति राजापाक्षेले सोमबार सपथ ग्रहण गरेका छन्। राजापाक्षे परिवारबाट राष्ट्रपति बन्ने उनी दोस्रो व्यक्ति हुन्।

यसअघि उनको परिवारबाट उनका दाई महिन्दा राजापाक्षे राष्ट्रपति बनेका थिए। उनले सन् २००५ देखि २०१५ सम्म श्रीलङ्कामा राष्ट्रपतिको रुपमा देशको नेतृत्व गरेका थिए।

प्रकाशित मिति: : 2019-11-20 13:34:38

प्रतिकृया दिनुहोस्