ठ्याक्कै एक हप्ताअगाडि साँझ ७ बजे आसपास सिंहदरबारको पूर्वी गेट छेउबाट हिँड्दै थिएँ। कसैले मलाई पच्छाइरहेजस्तो लाग्यो, म चनाखो भएँ। बिस्तारै त्यो मान्छेको छायाँले मेरो छाँयालाई छोप्यो र अग्लो हुँदै गयो। म झस्याङ्ग भएर छेउ लागेँ, चिट्चिट् पसिना छुटेको रहेछ।
गत भदौको कुरा हो, तराईकी एक किशोरी सम्झना दास र उनकी बहिनीलाई नातामा आफ्नै ठूलोबुवा पर्नेले सुतेकै ठाउँमा एसिड छ्यापेको ४ दिनमात्र भएको थियो। सीमा बस्नेतले सम्झनाको एसिडले डढेर कालो छाला भएको फोटो फेसबुकमा पोस्ट गरेकी थिइन्। सहयोगको अपिल थियो र उसको ज्यान बचाइदिन भगवानसँग प्रार्थना पनि। अफिसबाट घर फर्कने बेला मैले त्यही फोटो हेरेकी थिएँ। फोटोमुनि लेखिएको विवरण झनै पीडादायक थियो। उनकाे आँखाबाट पीप बगिरहेकाे थियाे। उनी बोल्न सकेकी थिइनन्। सीमा तिनै युवती हुन्, जो एसएलसीको ट्युसन पढ्न गएका बेला काठमाडौँ वसन्तपुरको एउटा ट्युसन सेन्टरको कक्षामा एसिड आक्रमणमा परेकी थिइन्। अहिले उनी एसिड आक्रमणमा पर्नेहरुकै सेवामा लागिरहेकी छन्।
८ बजेको थिएन, तर मेरो घरतिर जाने अन्तिम बस छुटिसकेको थियो। म भैँसेपाटी ओर्लिएर हिँडे। बस पाएका बेला म झर्ने स्टेसनमा आइपुग्नै लागेकी थिएँ। त्यहाँनिर मोड छ, मोड कटेर गयो भने मञ्जुश्री पार्कको तल्लो गेट पुगिन्छ। मोडको छेवैमा खरीको बोट, सिधा गए मेरो घर जाने बाटो। बाटो तल बस्ती छ तर पर–पर मात्रै घर छन्। बाटोमाथि सल्लाको वन। भर्खरै साँझ परेको भए पनि बाटो खाली थियो। मलाई जुत्ताले दुखाइरहेको थियो, बिस्तारै हिँड्दै थिएँ, घुम्तीमा मैले एउटा बाइक मोड्दामोड्दै रोकेको देखेँ।
फेरि त्यो बाइक मोडिएर भञ्ज्याङतिर नै आयो। मेरो नजिक आइपुगेर ठूलो स्वरमा ‘ए’ भनेर चिच्यायो। मेरो घर जान घुम्ती कट्नुपर्दैन। हिँडिरहे, त्यो बाइक फर्केर आयो र मेरो अगाडि रोक्यो-
‘कहाँ जान लागेको म पुर्याइदिन्छु।’
उसले रक्सी खाएको रहेछ, म नबोली बाइक छलेर हिँडेँ।
पहिला–पहिला मलाई कसैले जिस्कायो भने मुखमा आएजति सबै कुरा भन्दिन मन लाग्थ्याे। त्यसो गरेको पनि छु। तर पछि ममी र दाइले, ‘किन मुख फर्काउनुपर्यो, चुप लागेर आफ्नो बाटो हिने भैगो नि’ भन्न थाले।
मैलै बिस्तारै त्यो बानी फेर्न खोजेँ, मुख चुप लागेपनि मनमा भने आँधी चल्छ। फेरि हामीलाई केही कुराको जवाफ फर्काए, ‘चोथाले रैछे’ भनिन्छ। खैर, म नबोली अगाडि बढेँ।
त्यो बाइक फेरि घुमेर मेरो अगाडि आयो, ‘सुनेनौ, म लगिदिन्छु क्या, बस।’
मैले फेरि बाटो मोडे, तर मलाई एकदम रिस उठिसकेको थियो। टाउको रनक्क भइसकेको थियो। जुत्ताले खुट्टा दुखाएकाले दौडेर छिटो जान सकिन। घुम्तीबाट सय मिटर जति अगाडि पुगेपछि मेरो घर देखिन्थ्यो। अरु बेलामा त बाटोमा झ्याउँ–झ्याउँ मान्छे हुन्थे, तर आफूलाई पर्दा म त्यहाँ एक्लो थिएँ। बाटो छेउछाउका हरियो कालिमुन्टे र तितेपातीको झ्याङ त्यो दिन ठूलो बोटजस्तो देखिन थाले, पर्खालजस्तै। झन् डर लाग्यो। मनले अनेक कल्पना गर्न थालेँ। यो मान्छे यसै मान्नेवाला थिएन।
तेस्रो पल्ट पनि त्यो मान्छेले मेरो बाटो छेक्यो, अब त अत्ति भो। कुकुर अरुको ठाउँमा पुच्छर निहुराएर हिँडे पनि आफ्नो ठाउँमा ठूल्ठूलो स्वरले भुक्दै हिँड्छ, तर म मेरै घरमाथि लुत्रुक्क परेर हिडिँरहेकी थिएँ। चिच्याएको भए पनि घरमा सुन्थे होला तर म निरीह भएकी थिएँ।
दिमागमा आइडिया नफुरेको होइन, ‘एक लात्ती हानेर बाइक र मान्छे ढाल्दिन्छु, त्यो उठेर आउँदासम्म मैले छलिसक्छु।’
अर्को आइडिया पनि थियो, ‘चिच्चाएर सबैलाई जम्मा पारेर बेइज्जत गर्दिन्छु,’ अथवा ‘पुलिसले लैजान्छ।’