सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको ह्याङ्ले खोलामा आएको बाढीले घर र पुल बगाउनुका साथै २ जना बेपत्ता पारेको छ।
भोटेकोसी गाउँपालिकाको मार्मिङ चाकुमा शनिबार राति स्थानीय ह्याङ्ले खोलामा आएको बाढीले उक्त क्षति पुर्याएको सिन्धुपाल्चोक प्रहरीले जानकारी दिएको छ।
वर्षापछि आएको बाढीले कोदारी राजमार्गछेउको चाकु हृयाङ्ले गाउँस्थित एक घर र चाकु बजार वारपार गर्ने साँघु पुलसमेत बगाएको प्रहरीले जनाएको छ।
उक्त बाढीमा परी बगाएर भोटेकोसी गाउँपालिका वडा नम्बर ५ मा निर्माणाधीन शिवश्री हाइड्रोपावरमा काम गर्ने दुई कर्मचारी बेपत्ता भएको प्रारम्भीक रिपोर्ट आएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
उनीहरूको खोजीका लागि प्रहरी परिचालन भइसकेको छ।
राति ८/९ बजेतिर खाना खाएर सुत्न जाने क्रममा उनीहरू बाढीमा बेपत्ता भएको प्रारम्भीक जानकारी आएको बाह्रबिसेस्थित इलाका प्रहरी कार्यालका प्रमुख प्रहरी निरीक्षक यादव थापाले जानकारी दिए।
प्रहरी निरीक्षक थापाका अनुसार मध्य भोटेकोसी जलविद्युत् आयोजनास्थलको हेर्डवक्सस्थल, टावर, एक्जाभेटर, टिप्पपर जस्ता साधन, माथिल्लो भोटेकोसीको बाधस्थल संरचनादेखि शिवश्री हाइड्रो पावर, चाकु हाइड्रो अधिकांश संरचनामा बाढीले क्षति पुर्याएको छ।