अमेरिकापछि क्यानडाको टोरन्टोमा धार्मिक महायज्ञ सुरु भएको छ । हिन्दु र बौद्ध दर्शनमा आधारित धार्मिक महायज्ञ शनिवार अपरान्ह सुरु भएको हो ।
नेपाली ‘वाचन–प्रवीण’ दिनबन्धु पोखरेलले कथा बाचन गर्ने महायज्ञमा बौद्ध समुदायका गुरुको पनि सहभागिता हुनेछ । पोखरेल ‘डिसी मेट्रो सप्ताह’ समापनपछि अमेरिकाबाट टोरन्टो आएका हुन् ।
‘नेप्लिज क्यानेडियन हेरिटेज सेन्टर’को अगुवाईमा टोरन्टोस्थित इटोबिकोमा महायज्ञ सुरु भएको हो । महायज्ञले विकासमा सघाएका केही उदाहरणबाट प्रभावित भएर क्यानडामा पनि यस्तो धार्मिक कार्यक्रम गरिएको हो ।
महायज्ञको मुख्य लक्ष्य ब्राम्प्टनस्थित पशुपतिनाथ मन्दिर विस्तार गर्न दाताबाट यथासक्य रकम संकलन गर्नु हो । ‘नेपाली समुदायवीच भाइचारा बढाउने’ र ‘आपसी सद्भाव अझ घनिष्ठ पार्ने’ उद्देश्य त छँदै छन् ।
महायज्ञ उद्घाटनअघि शनिवार मौलिक पहिरनमा सजिएका नेपाली नरनारी पशुपतिनाथ मन्दिर परिसरमा भेला भएका थिए । त्यहाँबाट कलश यात्रा गरी उनीहरु इटोबिकोस्थित महायज्ञ आयोजनास्थल पुगेका हुन् ।
‘सबै समुदायका नेपालीहरु यसरी मौलिक पहिरनमा सजिएर जमघट भएको कमै देख्न पाइन्छ’ सारी चोलो र दौरा सुरुवाल लगाएका नेपालीहरुको भीडमा धेरैले भने, ‘टोरन्टोमा यो एउटा गज्जबको माहौल देखियो ।’
नेपाली समुदायको अगुवाईमा वेद तथा बुद्ध दर्शनमा आधारित भई गर्न लागिएको महायज्ञलाई ‘क्यानडाका सबैजसो नेपाली संघ संस्थाको साथ रहेको’ बताइएको छ ।
जुलाई ६ देखि १३ सम्म हुने महायज्ञको मियो उनै ‘वाचन– प्रवीण’ पोखरेल हुन्, जो यहाँ बृहतरुपमा पहिलोपल्ट हुन गइरहेको महायज्ञनिम्ति पहिलोपल्टै क्यानडा आएका हुन् ।
दाताबाट एक मिलियन क्यानेडियन डलर संकलन हुने लक्ष्यसहित महायज्ञ आयोजना गरिएको हो । संकलित रकम पशुपतिनाथ मन्दिर बिस्तार गर्न खर्च गरिनेछ ।
हाल ब्राम्प्टनमा रहेको पशुपतिनाथ मन्दिर साँघुरो भवनमा रहेको र ठूला जमघट गर्न समस्या परिरहेको अवस्था छ । महायज्ञपछि मात्रै मन्दिर नयाँ ठाउँमा बिस्तार गर्ने या त्यहीं भन्ने निर्णय हुनेछ ।
महायज्ञ सफल पार्न डा. हरि गुरुङ अध्यक्ष रहेको मूल आयोजक समिति र विभिन्न १६ वटा उपसमिति सक्रिय छन् । नेपालीमूलका किशोरहरुले दैनिक वेद पाठ गर्नेछन् ।
हिन्दु र बौद्ध दर्शनमा आधारित महायज्ञका आयोजक दाताबाट एक मिलियन क्यानेडियन डलर संकलन गर्ने लक्ष्यमा छन् ।
प्रकाशित मिति:
: 2019-07-07 03:18:01