पाकिस्तानको केही सिप लागेन, जितेर पनि विश्वकपबाट बाहिर

तस्बिरः एजेन्सी

पाकिस्तान विजयी भए पनि न्युजिल्यान्ड सेमिफाइनलमा!

एजेन्सी – इंग्ल्याण्ड र वेल्समा जारी एक दिवसीय विश्वकप अन्तर्रगत गए रातिको खेलमा पाकिस्तानले बंगलादेशलाई हराए पनि सेमिफाइनलमा पुग्न सकेन।

जितका बाबजुत पनि पाकिस्तान नेट रनरेटमा पछि पर्दै लिग चरणबाटै बाहिरिएको छ। न्युजिल्यान्ड र पाकिस्तानको समान ११ अंक भए पनि नेट रन रेटका आधारमा न्युजिल्यान्ड सेमिफाइनलमा पुगेको हो।

३ सय १६ रनको विशाल लक्ष्य पछ्याएको बंगलादेश ४४.१ ओभरमा अल आउट हुँदै २ सय २१ रनमा रनमा समेटियो।

बंगलादेशका लागि सकीब अल हसनले सर्वाधिक ६४ रनको योगदान दिन बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन्। सकीबले ७७ बलमा ६ चौका प्रहार गरेका थिए।

बंगलादेशका ओपनर तामिम इकवाल ८ र सौम्य सरकारलाई २२ रनमा गुमाएको थियो। मुश्फिकुर रहिम १६, लिटन दास ३२,महमुदूल्लाह २९ मोसाद्देक हसन १६ रनमा क्याच आउट भए।

पाकिस्तानका लागि युवा खेलाडी शाहिन शाह अफ्रिदीले करिअरकै उत्कृष्ट प्रर्दशन गर्दै ९.१ ओभरमा ३५ रन खर्चेर ६ विकेट लिए।  सादव खान २, मोहम्मद आमिर  र वहाब रियाजको नाममा समान १ विकेट रह्यो।

यसअघि लर्डसमा टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय १५ रन बनाएको थियो।

पाकिस्तानका ओपनर इमामले उल हकले १ सय रनको योगदान दिए। उनले १ सय बलमा ७ चौका प्रहार गरेका थिए। उनले ९९ बलमा वान डे करिअरको सातौं तथा विश्वकपमा पहिलो शतक पुरा गरेका थिए।

बाबर आजमले ९८ बलमा ११ चौका सहित ९६ रन बनाएर पेभिलिएन फर्किए। बाबर ४ रनले शतक बनाउन चुकेका थिए।

दोस्रो विकेटका लागि बाबर र इमामले १ सय ५७ रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै इनिङ उकासे।

सैफुद्दीनलेनै ओपनर फकार जमानले १३ रन बनाउँदा मोहम्मद हफिज २७, हरिस सोहेल ६, कप्तान शरफराज ३, अहमद, वहाब रियाज २, सादव खान १ रनमा आउट भए। इमाद वासिमले २६ बलमा ६ चौका र १ छक्का ४३ रनमा क्याच आउट भए।

बंगलादेशका लागि मुस्ताफिजुर रहमानले १० ओभरमा ७५ रन खर्चेर ५ विकेट लिए। मोहम्मद सैफुद्दीन ३ र मेहदी हसनको नाममा १ विकेट रह्यो।

योसँगै पाकिस्तान ९ खेलमा ५ मा जित र ३ मा हारका साथ ११ अंक जोड्दै पाँचौ स्थानमा रहेर यस विश्वकप समाप्त गर्‍यो।

त्यस्तै ९ खेलमा ५ मा जित र ३ मा हारका साथ समान ११ अंक भए पनि नेट रनरेटले अघि रहँदै न्युजिल्यान्ड सेमिफाइनलमा प्रवेश गर्‍यो।

त्यस्तै बंगलादेशले ९ खेलमा ३ मा जित र ५ मा हारका साथ सातौं स्थानमा रहेर विश्वकप समाप्त गर्‍यो।

अष्ट्रलिया, भारत, इंग्ल्यान्ड र न्युजिल्यान्ड सेमिफाइनमा पुगेका छन्। भारत र अष्ट्रेलियाले एक एक खेल खेल्न बाँकी छ। यी दुई देशको नतिजाले विश्वकपको सेमिफाइनल समिकरण मिल्नेछ।

सेमिफाइनलमा शीर्ष स्थानमा रहेको टोलीले चौथो स्थानको टिमसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै दोस्रो र तेस्रो स्थानमा रहेका टोलीबीच दोस्रो सेमिफाइनल हुनेछ।

प्रकाशित मिति: : 2019-07-06 07:59:45

प्रतिकृया दिनुहोस्