नेपाल भ्रमण वर्ष २०२०को पूर्वसन्ध्यामा बढायो नेपालले भिसा शुल्क !

नेपाल भ्रमण वर्ष २०२० पनि घोषणा गर्ने, पर्यटक भिसा शुल्क पनि बढाउने : यसरी त कसरी सफल होला र नेपाल भ्रमण वर्ष २०२० । तस्बिर : नेपाल पर्यटन बोर्ड ।

सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउने घोषणा गरेको नेपालले  आउँदो साउन १ गतेदेखि  लागु हुने गरी नेपालले भिसा शुल्क बढाएको छ ।

अध्यागमन विभागका अनुसार अब नेपाल आउने विदेशीले कम्तिमा पनि १५ दिने भिसा लिँदा २५ अमेरिकी डलर तिर्दैआएकोमा अब ३० अमेरिकी डलर तिर्नुपर्नेछ । यस्तो भिसा थप्नुपरेमा यसअघि दिनको दुई डलर तिरेपुग्नेमा अब तीन डलर तिर्नुपर्ने हुन्छ । 

यस्तो भिसा बहुप्रवेशी भएमा २५ डलर तिर्नुपर्नेछ। यसअघि त्यसका लागि २० डलर तिरे पुग्थ्यो ।

यसैगरी अन्य प्रकारका भिसाको पनि शुल्क बढाइएको छ । 

अध्ययन भिसाका लागि प्रतिमहिना ५ डलर बढाएर १० डलरबाट १५ डलर पुर्याइएको छ ।  यसैगरी, गैरपर्यटक भिसाको न्यूनतम् शुल्क  पनि ५ डलबरबाट बढाएर १० डलर गरिएको छ ।

आवासीय भिसा शुल्क वार्षिक  ५०० डलर पुर्‍याइएको छ । यसअघि यस्तो भिसा शुल्क २०० डलर तिरे पुग्थ्यो । 

व्यावसायिक भिसा शुल्क प्रतिमहिना १० डलरबाट २० डलर पुर्याइएको छ । 

३० दिनको बहुप्रवेशी भिसा शुल्क ४० बाट बढाएर ५० अमेरिकी डलर भएको छ भने ९० दिनको भिसा शुल्क १०० बाट बढेर १२५ अमेरिकी डलर पुगेको छ ।

एकातिर नेपाल भ्रमण वर्ष २०२० घोषणा गरेर  विदेशीलाई नेपाल भ्रमणका लागि आव्हान गरिदैछ छ भने त्यहीबेला उनीहरूलाई नेपाल पस्ने र बस्ने भिसाको दर भने बढाइदैछ । सरकारको यो निर्णयलाई सम्बन्धित क्षेत्रका विज्ञहरूले गलत समयमा आएको गलत निर्णय भनेका छन् । यसबाट गलत सन्देश जाने भएकाले यसले नेपाल भ्रमण वर्षलाई प्रभावित पार्न सक्ने आशंका पनि व्यक्त गरिएको छ । 

 

 

 

प्रकाशित मिति: : 2019-07-06 07:50:56

प्रतिकृया दिनुहोस्