एजेन्सी ।
इंग्ल्याण्ड र वेल्समा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा घरेलु टोलीका जेसन रोय र जोनी बेयरस्टोले अनौठो कीर्तिमान बनाएका छन् ।
विश्वकप इतिहासमा पहिलो पटक बेयरस्टो र रोयको ओपनर जोडीले एकै विश्वकपमा पहिलो विकेटका लागि तीन पटक एक सय रनको साझेदारी गर्दै नयाँ कीर्तिमान बनाएका हुन् ।
म्यानचेस्टरस्थित ओल्ड ट्राफोर्डमा अहिले जारी न्युजिल्याण्डविरुद्धको खेलमा १ सय २३ रनको साझेदारी गर्दै बेयरस्टो र रोयले उक्त कीर्तिमान बनाएका हुन् ।
यसअघि यी दुई जोडीले भारत र बंगलादेशविरुद्ध १ सय बढी रनको साझेदारी गरेका थिए। भारतविरुद्ध पहिलो विकेटका लागि बेयरस्टो र रोयले १ सय ६० र बंगलादेशविरुद्ध १ सय २८ रनको साझेदारी गरेका थिए ।
यसअघि कुनै पनि विश्वकपमा एकै जोडेले ३ पटकसम्म सय रनको ओपनिङ साझेदारी गरेका थिएनन्।
बेयरस्टोले ९९ बल खेल्दै १०६ रनको सतकीय इनिङ्ससमेत खेले। यस क्रममा उनले १५ चौका र १ छक्का प्रहार गरेका थिए। यस्तै रोयले ६१ बलमा ६० रनको अर्धसतकीय इनिङ्स खेले। उनले ८ चौका प्रहार गरेका थिए।