योगेश्वर अमात्य जीवनलाई आफ्नै लयमा चलाउँछन्। कुनै नियम वा बन्धनमा नबाँधी, स्वतन्त्र। अझ भनौं उन्मुक्त। काठमाडौं सहरमा उनको परिचय गायकभन्दा बढी मदिरा सौखिनको रुपमा स्थापित हुँदै गएको छ। योगेश्यर जति बिन्दास छन्, त्यति नै निश्चल पनि। हो उनी बनावटी कुरा गर्दैनन्। नेपालखबरसँग उनले जीवनका अहिलेसम्म नखोलिएका पाटाबारे बोलेका छन्ः
तपाईं गायक, संगीतकार, फोटोग्राफर, रेकर्ड निर्मातामध्ये सबैभन्दा बढी कुन हो?
यस्तो गाह्रो प्रश्न सोध्नुभयो कि मेरो पाँच वटा औँलामा सबैभन्दा महत्वपूर्ण कुन भनेर भनौं। महत्वपूर्ण बुढीऔँला नै हो। किन कि त्यो नभई अरु औँलाको मर्म मर्छ। मलाई सबै मेरा बुढीऔँला हुन्जस्तो लाग्छ।
तपाईंको गायन होस् या जीवनशैली अरुभन्दा पृथक छ भनिन्छ। के कुराले आफू अरुभन्दा फरक छुजस्तो लाग्छ?
मैले आफूलाई राम्रो गायक ठान्दिनँ। गाउन मलाई निकै मनपर्छ त्यो अर्कै कुरा भयो। शब्दहरु गाउन मनपर्छ र हरेक शब्दलाई न्याय दिनुपर्छ भन्ने मान्यता राख्छु। जीवनशैलीका हिसाबले त म विन्दास मान्छे हुँ।
लन्डनबाट नेपाल आउनासाथ आन्दोलन (गुठी विद्येयकको विरोध)मा उत्रिनुभयो नि?
म देशको अलि बढी चिन्ता गर्छु। कति फेसबुकमा मात्र बोलिरहनु भनेर आएको हुँ। मेरो उपस्थितिले अरुलाई पनि केही प्रेरणा मिलोस् भन्ने पनि हो। गुठीहरु संस्कृति र सामाजिक जीवनसँग जोडिएका छन्। गुठीको नाममा रहेको जग्गा भोगचलन गरिरहेका किसानको नाममा गर्ने कुराले परम्परागत धार्मिक तथा सांस्कृतिक धरोहरको अस्तित्व सखाप हुन्छ। मलाई मेरो आमाले बिहान ४ बजे उठाएर दैनिक पशुपति लानुहुन्थ्यो। गुहेश्वरी मन्दिरमा मेरो बुबाले बनाएका चाँदीका झ्यालहरु देखाउनुहुन्थ्यो। त्यही समयदेखि मेरो ब्रेन वास भयो कि भन्ने लाग्छ। त्यसैले पनि आफ्नो देशको परम्परा, धर्म र संस्कृति बचाउने दायित्व मेरो भागमा पनि परेको बोध गरेर म गुठी आन्दोलनमा होमिएँ।
आन्दोलनमा प्रहरीलाई फुलका गुच्छा दिनुभयो। धेरैले बलिउड फिल्म ‘मुन्ना भाई’को नक्कल गरेको भनेँ नि?
अँ, मैले पनि सुनेँ। मैले यो फिल्म हेरेको छैन। हुन त हाम्रो आन्दोलनमा प्रहरी नपठाएको भए बेस हुन्थ्यो तर पठाइसकेपछि उहाँहरुलाई हाम्रो आन्दोलन शान्तिपूर्ण हो, हामी झगडा गर्न आएका होइनौँ भन्ने संकेत गर्नका लागि फूल दिएको हुँ। यो सोच मलाई रुसका अन्तिम कम्युनिष्ट राष्ट्रपति मिखाइल गोर्भाचोभको पेरेस्त्रोइका (सोभियत संघको कम्युनिष्ट पार्टीभित्रको सुधारको एक आन्दोलन) बाट आएको हो। खासमा प्रहरी र हामी दुश्मन होइनौँ भन्न खोजेको हो। अर्को कुरा आन्दोलनकारी देख्दा उनीहरुलाई हुने तनाब र पीडामा मलम लगाउने प्रयास गरेको हुँ। फूल समाएपछि उनीहरुको हाँसोले मलाई पनि आनन्द दियो।