जाल्पा (खोटाङ) – नागरिक अधिकार र लोकतान्त्रिक मूल्य–मान्यताको हिसाबले जति नै बदनाम व्यवस्था भए पनि पञ्चायतले केही रचनात्मक अवधारणाहरू अघि सारेको थियो।
त्यसैमध्ये एक थियो – गाउँ फर्क अभियान।
गाउँका युवा शिक्षाका लागि सहर जाने, पढाई पूरा गरेपछि सहरमै अल्झिने र गाउँका खेत–बारीहरू भने बाँझै रहने समस्या सम्बोधन गर्न त्यो अवधारणा ल्याइएको थियो।
सैद्धान्तिक रुपमा जति नै लोकप्रिय भए पनि गाउँ फर्क अभियान दीगो भने हुन सकेन। पञ्चायती व्यवस्था ढल्नुअघि नै त्यो कार्यक्रम प्रभावहीन भयो।
त्याे अभियान दीगो हुन नसक्नुको एउटा कारण थियो – जनसहभागिता र जनअनुमोदनको अभाव।
राजदरबारको चाहनाअनुरुप सिंहदरबारले गाउँ फर्क अभियान सुरु त गर्यो, तर युवाहरू त्यो अभियानमा हृदयदेखि नै जोडिएनन्।
जति युवा यो अभियानमा जोडिए, उनीहरूले पनि गाउँ फर्केर आफ्नो शिक्षा, सीप र योग्यताअनुसार काम गर्ने उत्साहप्रद वातावरण पाएनन्। भित्री उद्देश्य गाउँको विकास गर्नेभन्दा पञ्चायतको पक्षमा जनाधार निर्माण गर्ने भएकोले पनि सम्भवतः त्यो अभियान चल्न सकेन।